संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै, गौर हत्याकाण्ड र रुपन्देही उपनिर्वाचन मुख्य एजेन्डा

लोकपथ
651
Shares

काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेपछि संघीय लोकतान्त्रिक मोर्चाले आज (बुधबार) बैठक आह्वान गरेको छ । बैठक बेलुका ५ बजे थापागाँउस्थित जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा गौर हत्याकाण्डसहित रुपन्देही ३ को उपनिर्वाचन तयारी र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । अदालतको आदेशपछि मधेश केन्द्रित दलहरूमा नयाँ तरंग ल्याएको छ । गौर हत्याकाण्डका घटनामा मोर्चाभित्रकै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई योजनाकारको रूपमा मानिँदै आएको छ ।

यसअघि मोर्चाले रुपन्देही उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर आन्तरिक विवादका कारण नाउपा निर्वाचनमा भाग लिन अयोग्य बनेपछि संरक्षक रेशम चौधरीले उठाएका स्वतन्त्र उम्मेदवारलाई सघाउने विषयमा बैठकले निर्णय लिने बताइएको छ ।

यस्तै, उपसभामुखलाई पदमुक्त गर्ने कांग्रेस र एमालेको तयारीबारे पनि मोर्चाले आजको बैठकमा धारणा बनाउने तयारी गरेको छ । प्रतिनिधि सभामा दुई तिहाइ बहुमत पुर्‍याउन मोर्चाभित्रका दलहरू निर्णायक बन्न सक्ने भएकाले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?