एमाले कार्यकर्तालाई आर्थिक आत्मनिर्भरतामा केन्द्रित हुन विद्यादेवीको आग्रह

लोकपथ
259
Shares

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले मोरङको पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरेकी छन् । 

एमाले पूर्व उपाध्यक्षको हैसियतमा सम्बोधन गर्दै भण्डारीले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै अगाडि बढ्न आग्रह गरिन् ।

उनले राष्ट्रपति पदबाट पछि हटेपछि पार्टी सदस्यता नवीकरण गरेको र अब सक्रिय सदस्यको रूपमा काम गरिरहेको बताइन् ।

४५ वर्षअघिदेखि एमालेको सदस्य रहेकी भण्डारीले पार्टी सदस्यता विराटनगरबाटै लिएको स्मरण गराउँदै यहाँलाई आफ्नो गृहनगर जस्तो अनुभव भएको बताइन् । उनले राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिकरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राई, जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा र अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए । भण्डारीले पार्टी कार्यालय परिसरमा रहेको मदन आश्रितको सालिकमा माल्यार्पण पनि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?