भारतीय विदेशसचिव मिश्रीको नेपाल भ्रमण : द्विपक्षीय हितका लागि कति लाभदायी ?

लोकपथ
154
Shares

काठमाडौं । मित्रराष्ट्र भारतका विदेशसचिव विक्रम मिश्रीले दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरेका छन् ।

आइतबार नेपाल आएका मिश्री सोमबार स्वदेश फिर्ता भएका छन् ।

नेपालमा रहँदा मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रपमन्त्री आरजु राणा देउवासहित राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए ।
नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्र्दै मिश्रीको नेपाल भ्रमणले दुई देशबिचमो नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन मद्दत पुर्याएको जनाएको छ ।

‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । विदेश सचिवको भ्रमणले दुई देशहरु बिचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै यसले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन मद्दत गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

मिश्रीको नेपाल भ्रमणले नै प्रधानमन्त्री ओलीको भारत भ्रमण समेत निश्चित गरेको छ । मिश्रीले मोदीले ओलीलाई पठाएको निमन्त्रणा समेत दिएको थिए । जसमा दुवै पक्षको हित अनुकुल हुनेगरी भ्रमण हुने विश्वास व्यक्त गरिएको छ । नजिकको छिमेकी देश रहेका कारण दुई देशबिच आपसी समझदारीका लागि ओलीको भारत भ्रमण महत्वपूर्ण मानिएका बेला हुन लागेको भ्रमणलाई समेत उपलब्धी मानिएको छ ।

‘विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पक्षलाई अनुकूल हुने मितिमा भारतको भ्रमण गर्न भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले दिनुभएको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नुभयो,’ दूतावासले भनेको छ ।

त्यस्तै सो क्रममा नेपालका समकक्षीसँग समेत मिश्रीले भेटवार्ता गरे । सो क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा हुनसक्ने दुई पक्षीय हितको विषयमा समेत कुराकानी भएको थियो ।

‘दुवै सचिवहरुले विस्तृत छलफल गर्नुभयोे, विभिन्न द्विपक्षीय पहलहरुमा भएका प्रगतिको समीक्षा गर्नुभयोे र प्रधानमन्त्री ओलीको आगामी भारत भ्रमणको एजेन्डाको हिस्सा बन्न सक्ने सम्भावित परिणामहरु सहित थप सहकार्यका अवसरहरुबारे छलफल गर्नुभयो,’ उनले भने ।

त्यस्तै मिश्रीले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देललाई पनि भेटी नेपाली सेनालाई लाइट स्ट्राइक भेहिकल (एलएसभी), क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट र सैन्य जनावरहरु सहित रक्षा सामाग्रीहरु र उपकरणहरु समेत हस्तान्तर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?