काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ०८१ चैत १५ गते आफूलाई मार्ने योजना बनाइएको दाबी गरेका छन् ।
सोमबार आफ्नो निवास गोठाटारमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले सो कुरा बताएका हुन् ।
गत चैत १५ को घटनापछि प्रहरीको हिरासतमा रहेका प्रसाईँ केही दिनअघि धरौटीमा रिहा भएपछि पहिलोपटक पत्रकार सम्मेलन गरेका हुन् । उनले सो दिन आफूहरुसँग राज्य डराएको समेत दाबी गरे । साथै आफूलाई अघिल्लो दिन नै मार्ने योजना रहेको कुरा थाहा भएको भन्दै आफू केही नभनी तीनकुने पुगेको समेत बताए ।
‘चैत १५ गते हामीलाई मार्ने योजना बनाइएको थियो । मलाई अघिल्लो दिन राति नै त्यो थाहा थियो । त्यही भएर म नभनीकन गएको । यदी मैले भनेर गएको भए कोही पनि आउने थिएन । मलाई मार्ने योजना बनाए पनि मलाई त्यस दिन बाँच्नु थियो । म तीनकुने पुग्नेबित्तिकै मञ्चको पछाडीको घरबाट गोली प्रहार भएको थियो मलाई,’ उनले भने ।
त्यसो त प्रसाईँले बेपत्ता भएको केही दिनपछि भिडियो सार्वजनिक गर्दै आफू काठमाडौं उपत्यकाको कुनै मन्दिरमा बसेको दाबी गरेका थिए । तर आजको पत्रकार सम्मेलनमा उनले आफू सो दिन कर्फ्यू लाग्दा काठमाडौं छाडिसकेको बताए । उनले आफूलाई मदन भण्डारी र विरेन्द्र शाहसँग तुलना गर्दै आफूलाई पनि अघि बढ्न नदिन मार्ने योजना बनाइएको बताए ।
‘कर्फ्यू लाग्दा काठमाडौैं छाडिसकेको थिएँ, किनभने मैले बुझेको थिएँ, मलाई इन्काउन्टर गर्ने आदेश रहेछ । किन इन्काउन्टर गर्ने आदेश रहेछ त भन्दा यो देशमा मदन भण्डारी बाँचेका थिए भने अरुको चान्स आउने थिएन । त्यही भएर मदन भण्डारीलाई मारियो । राजा विरेन्द्रलाई नमारेको थियो भने हिन्दू भन्ने शब्द हटाएर धर्म निरपेक्ष बनाउने पाइँदैन थियो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया