काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पुर्याएको नेपालको जैविक विविधता संकटमा रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पुर्याएको बताए ।
उनले अहिले नेपालसहित हिन्दुकुश हिमालय देशहरु संकटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताए । उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केबल वैज्ञानिक प्रतिवेदनमा सिमित नभई दैनिक जीवनको कठोर यथार्थ बनेको बताए ।
हिन्दुकुश हिमालय क्षेत्रको भूगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसरका रुपमा आफूले सम्मेलनलाई लिएको विश्वास व्यक्त गरे। विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियससम्म सिमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आफ्नो-आफ्नो ठाउँबाट योगदान पुर्याउनु आजको आवश्यकता भएको बताए ।
उनले हिमालय क्षेत्रमा तापक्रम औसत भन्दा धेरै वृद्धि भएको बताए । उनले नेपाल जैविक विविधताका दृष्टिले धनी रहेको उल्लेख गर्दै विश्वका दुर्लभ वनस्पति र जनावरको वासस्थान नेपालमा रहेको बताए ।
राष्ट्रपति पौडेलले जैविक विविधता संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँगको सहकार्य प्रशंसनीय रहेको बताए । वैज्ञानिक तथ्य र जनआवाजलाई आधार मानेर जलवायु जैविक विविधता र वायु प्रदुषणसम्बन्धी समय सापेक्ष, जनमुखी र कार्यान्वयनयोग्य नीति तर्जुमा गर्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया