मोरङ । घरमै श्रीमती र बालबच्चा हुँदाहुँदै कान्छी श्रीमती भित्राउने अनि बच्चासमेत जन्माउने । तर रहर पुगेपछि त्यही कान्छी श्रीमती र उनीबाट जायजन्म भएको छोरीलाई समेत चिन्दिन भन्दै अनेक दुख: दिने । यतिसम्म कि कान्छी श्रीमती र छोरीलाई अंशबाट बेदखल गर्न क्षेत्राधिकार नै नभएको अदालतमा समेत पुगेर बदनियत पूर्वक आफ्नै विरुद्ध जेठी श्रीमतीबाट मुद्दा गर्न लगाएर सम्पत्ति सबै जेठी श्रीमतीको नाममा गर्ने । त्यसपछि आफूसँग केही छैन भन्दै पन्छिने ।
हो, खासमा यसै गर्न खोजेका थिए शिबेन्द्र बहादुर बस्नेतले । केही हदसम्म उनी यो सबै गर्न सफल पनि भए । तर बदनियत राखेर गरिएको कार्यले कहाँ कानुनी मान्यता पाउँछ । माथिल्लो अदालत मात्रै होइन, त्यही अदालतले पनि बदनियत राखेर र झुटो विवरण पेस गरी गरिएको कार्य र फैसलालाई अमान्य घोषित वा बदर गर्न सक्छ । मोरङ जिल्ला अदालतले पनि एउटा यस्तै फैसला गरेको छ जहाँ आफ्नै अदालतमा भएको मिलापत्रलाई बदर गरी मिलापत्रलाई उल्टाइदिएको छ ।
मोरङ जिल्ला अदालतका न्यायाधीश चित्र बहादुर गुरुङले सोही अदालतमा भएको मिलापत्रलाई बदर गरी शिबेन्द्र बहादुर बस्नेत र उनकी जेठी पत्नी अर्चना बस्नेतले दूषित मनोभाव राखेर क्षेत्राधिकार बाहिरको अदालतमा मुद्दा दायर गरेको ठहर गरेको छ । त्यति मात्रै होइन, ललितपुरमा बस्ने उनीहरूले मोरङ जिल्ला अदालतमा गई मुद्दा दायर गरी मुद्दा दायर भएको भोलिपल्ट नै मिलापत्र गर्नुको उद्देश्य ललितपुर जिल्ला अदालतमा चलिरहेको नाता कायम, अंश चलन र घरेलु हिंसाको मुद्दालाई प्रभावित पार्ने र अंश नदिने दूषित मनसाय राखेको भन्दै उल्टाइदिएको छ ।
पहिले शिबेन्द्र बहादुर बस्नेत को हुन् र घटना के हो, त्यो बुझौँ
शिबेन्द्र बहादुर बस्नेत सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा नेपाल सरकारका पूर्व मन्त्रीसमेत रहिसकेका सुरेन्द्र बहादुर बस्नेतका कान्छा छोरा हुन् । त्यसभन्दा बढी परिचय भनेको पारिवारिक लगानीबाट चलेको बुद्ध एयरका पूर्व निर्देशक वा सेयर होल्डरसमेत हुन् । अर्थात् बुद्ध एयरका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतका भाइ समेत हुन् ।

बुद्ध एयर सुरुवात भएको केही वर्षमै शिबेन्द्र आफ्नै एयरलाइन्स सञ्चालन गर्ने भन्दै २०५७ सालमै बुद्ध एयरमा रहेको आफ्नो सबै सेयर बेचेर निस्किएका थिए । त्यसपछि उनले बुद्ध एयरकै कैयन कर्मचारीलाई आफूसँगै लगेर माउन्टेन एयर सञ्चालनमा ल्याएका थिए । बुद्ध एयरबाटै लगेका कर्मचारीमध्ये एक थिइन् बवी रायमाझी, जो त्यति बेला एयर होस्टेस थिइन् र पछि शिबेन्द्र बहादुर बस्नेतको कान्छी श्रीमतीका रूपमा रहिन् ।
तर व्यवस्थापनमा कमजोर बनेपछि माउन्टेन एयर सञ्चालनमा आएको केही समयमै बन्द हुन पुग्यो र विभिन्न बैंक तथा नागरिक उड्डयन प्राधिकरणको समेत कालोसूचीमा पर्न गयो ।
त्यसपछि माउन्टेन एयरका विमानहरू बेचेर उनले आफ्नी जेठी छोरीका नाममा शिवानी फ्लाईङ स्कुल खोले । चितवनमा खोलिएको उक्त फ्लाइङ स्कुलमा अध्ययन गरेका करिब ३ दर्जन विद्यार्थीसँग पैसा उठाए पनि उनीहरूलाई शिक्षा दिन तथा प्रमाणपत्र दिन नसकी बन्द भयो । त्यसपछि उनी माओवादी द्वन्द्वकालको असर र ज्यानकै सुरक्षामा खतरा भन्दै अमेरिका भासिए ।

यता कुनै समय बुद्ध एयरमा एयर होस्टेस रहेकी बवी रायमाझीका तर्फबाट ओजस्वी बस्नेत नाम गरेकी छोरीको समेत जन्म भइसकेको थियो । शिबेन्द्रले बवीलाई समेत जावालाखेलमा रहेको आफ्नो पुर्खौली घरनजिकै राखेका थिए र बवी कान्छी श्रीमती हुन् भन्ने कुरा शिबेन्द्रको बुवा आमादेखि सबै परिवारलाई जानकारी थियो । कान्छी छोरी जन्मिएको केही समयमै अमेरिका भासिएका उनले त्यहीँबाट बवी रायमाझीलाई श्रीमती भनी खर्च समेत पठाइरहेका थिए ।
लामो समय अमेरिकामा रहेका शिबेन्द्र बुवा सुरेन्द्र बहादुर बस्नेतको मृत्यु हुनुभन्दा केही समय अगाडि मात्रै नेपाल आएका थिए । यता बुवा सुरेन्द्रले पारिवारिक विरासत रहेको बुद्ध एयरको सेयरमध्ये पहिले नै वीरेन्द्रको नाममा रहेको २० प्रतिशत बाहेक आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर परिवारका सदस्यहरूको नाममा गरिदिएका थिए । परिवारका सदस्यको नाममा गर्दा दामासाहीले नै सेयर बाँडफाँड गरिदिएका थिए । शिबेन्द्र देश बाहिर रहेको र व्यवस्थापनमा कमजोर रहेको भन्दै शिबेन्द्रले पाउने ४० प्रतिशत सेयर भने शिबेन्द्रको जेठी श्रीमती अर्चना बस्ने र तीन छोराछोरीको नाममा गराइदिएका थिए ।
बुवाको मृत्युपछि बखेडा सुरु
जब बुवा सुरेन्द्र बहादुर बस्नेतको मृत्यु भयो, तब नेपालमै बस्न थालेका अमेरिकी नागरिक शिबेन्द्रले अब कान्छी श्रीमती बवी रायमाझी र कान्छी श्रीमती पट्टिकी छोरी ओजस्वी बस्नेतलाई चिन्दिन भन्न थाले । बवी र ओजस्वीलाई खर्चसमेत दिन छाडे भने जन्म दर्ता र नागरिकता बनाइदिन समेत इन्कार गरे ।
त्यसपछि बवी रायमाझीले ललितपुर जिल्ला अदालतमा शिबेन्द्रसँग नाता कायमका लागि फिराद दर्ता गराइन् । नाता कायमको फिराद दर्ता सँगै बवीले मानाचामल, अंश चलन र घरेलु हिंसाको मुद्दा समेत दर्ता गराइन् ।
त्यसको प्रतिउत्तरमा शिबेन्द्रले बवी आफ्नी श्रीमती होइनन् र चिन्दिन भन्दै प्रतिउत्तर लगाए र बवीलाई आफूहरुविरुद्ध मुद्दा दायर गर्ने हकदैया नै नरहेको जिकिर लिए । अर्चना बस्नेतले पनि सोही ब्यहोराको प्रतिउत्तर दिई हकदैया नै नभएको जिकिर गरिन् । तर ललितपुर जिल्ला अदालतले प्राप्त तथ्य र प्रमाणका आधारमा शिबेन्द्र र अर्चनालाई विपक्षी बनाई मुद्दा दायर गर्ने हकदैया बवीलाई रहेको भन्दै आदेश दिई मुद्दा अगाडि बढायो ।
यता ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भई हकदैया समेत कायम गरेपछि शिबेन्द्र र उनकी जेठी पत्नी अर्चना बस्नेत भने मोरङ जिल्ला अदालत पुगे । त्यहाँ पुगेर अर्चनाका नामबाट शिबेन्द्र बहादुर बस्नेतविरुद्ध मानाचामलको मुद्दा दायर गरियो । २०७९ माघ ९ गते अर्चनाले शिबेन्द्र बहादुर बस्नेतविरुद्ध मानाचामलको मुद्दा दायर गरिन् र त्यसको भोलिपल्ट अर्थात् २०७९ माघ १० गते नै मिलापत्र गरियो । मुद्दा दायर गर्दा अंशियारमा अर्चनाले आफू, शिबेन्द्र बहादुर बस्नेत र तीन छोराछोरीको नाम मात्रै उल्लेख गरिन्, जबकि बवी र उनीतर्फकी छोरी ओजस्वीको नाता कायम र मुद्दाको विवाद चलिरहेकै थियो ।
क्षेत्राधिकार नै नभएको जिल्लामा मुद्दा दायर !
अचम्म त के छ भने ललितपुर जिल्ला अदालतमा बवी र ओजस्वीको तर्फबाट कानुनी लडाइँ सुरु भएकै समयमा जावालाखेल स्थायी ठेगाना भएका अर्चना र शिबेन्द्रले मोरङ जिल्ला अदालत रोजे । मोरङमा उनीहरूको बसोबास नै थिएन र त्यहाँ केवल आफू अनुकूलको निर्णय वा फैसला गराउन र ललितपुर जिल्ला अदालतलाई थाहा नदिन मात्रै गइएको थियो । अरूले थाहा नै नपाओस् र आफू अनुकूलको फैसला गराउन सकियोस् भनेर उनीहरू मोरङ पुगेका थिए ।

मोरङ पुग्नुभन्दा पहिले ललितपुर जिल्ला अदालतमा समेत उनीहरू अंशबन्डा गर्ने प्रयोजनका लागि पुगेका थिए । शिबेन्द्रले आफ्नो पहिलो श्रीमती अर्चना बस्नेतसँग अंशबन्डा गर्ने प्रयोजनको लागि दुवैको मिलीभगतमा ललितपुर जिल्ला अदालतमा ०७९–सिपी–०९८९ बाट मुद्दा दायर गरेका थिए । २०७९ माघ ३ गते दायर गरिएको उक्त अंश चलन मुद्दामा प्रतिउत्तर फिराई मुद्दा मिलापत्र गरिएको कागज इजलासमा पेस गरिएको थियो । तर बवी रायमाझीको अंश र नाता कायम विवाद रहेको भन्दै इजलासले पटक पटक अस्वीकृत गरेको थियो । त्यसपछि शिबेन्द्रले उक्त मुद्दा २०७९ माघ ६ गते फिर्ता लिई त्यसको तीन दिनमा क्षेत्राधिकार नै नभएको मोरङ जिल्ला अदालत पुगेर सोही फिराद दायर गरेका थिए ।
सबै सम्पत्ति अर्चनाको हुने गरी मिलापत्र !
क्षेत्राधिकार नै नभएको मोरङ जिल्ला अदालतमा पुगेर मानाचामलको मुद्दा दायर गरी मुद्दा दायर भएको भोलिपल्ट नै उनीहरूले मिलापत्र गरेका थिए । शिबेन्द्र बहादुर बस्नेत विभिन्न बैंक तथा नागरिक उड्डयन प्राधिकरणको कालोसूचीमा परेको कारण सम्पत्ति जाने डरले उनको अधिकांश सम्पत्ति पहिले नै अर्चना बस्नेतको नाममा सारिएको थियो ।
त्यसबाहेक उनी अमेरिकी नागरिक भइसकेको कारण त्यति बेला उनको नाममा सम्पत्ति थिएन । यही अवस्थाको फाइदा उठाउँदै उनीहरूले मोरङमा मुद्दा दर्ता भएको भोलिपल्ट अर्थात् २०७९ माघ १० गते नै मिलापत्र गर्दै अर्चनाको नाममा रहेको सबै सम्पत्ति अर्चनाकै हुने गरी मिलापत्र गरियो । त्यति मात्रै होइन, अन्य अंशबापतको रकम भन्दै ५ लाख रुपैयाँ नगदै बुझिलिएको र तीन सन्तानको अंश भाग विपक्षी अर्थात् शिबेन्द्र बहादुर बस्नेतकै रहने गरी मिलापत्र गरियो । अनि मानो छुट्टिएको मिति पनि २०६० असोज २५ गतेलाई मानेको स्वीकार गरियो । मानो छुट्टिएको मिति २०६० असोज २५ गतेलाई मान्नुको कारण थियो, कान्छी श्रीमती बवी रायमाझी तर्फबाट २०६१ साउन २७ गते छोरी ओजस्वी बस्नेतको जन्म हुनु । २०६० असोज महिनालाई नै मानो छुट्टिएको मिति मान्दा ओजस्वी गर्भमा नै नआएको कारण अंशबाट बेदखल गर्ने स्पष्ट उद्देश्य थियो ।
… अनि अदालतले गरिदियो जेठी श्रीमतीसँगको सम्बन्ध विच्छेद र अंश बदर
कान्छी श्रीमती बवी र छोरी ओजस्वीलाई अंश र नागरिकता प्राप्ति गर्नबाट नै बेदखल गर्ने उद्देश्यबाट जेठी श्रीमतीसँग मिलेर शिबेन्द्रले मोरङ पुगेर अंश दिई सम्बन्ध विच्छेद गरेको कुरा पछि ललितपुर जिल्ला अदालतमा प्रतिउत्तर दिएपछि थाहा भयो । त्यस लगत्तै बवी रायमाझीले मोरङ जिल्ला अदालतमा भएको मानाचामल र अंश विवादको मुद्दामा भएको फैसला बदर गर्न माग गर्दै फिराद दर्ता गराइन् ।

उनले ललितपुरमा चलिरहेको मुद्दा, शिबेन्द्रले उच्च अदालत पाटनमा हकदैया नरहेको भनी दिएको रिट र त्यसमा भएको आदेश सबै राखेर फिराद दर्ता गराइन् । अर्चनाले २०८० जेठ १८ गते दर्ता गराएको मिलापत्र बदरको उक्त फिरादमाथि सुनुवाइ सुरु भयो ।
मोरङ जिल्ला अदालतले ललितपुर जिल्ला अदालतबाट कागजात मगायो भने उच्च अदालत पाटनबाट भएका आदेशहरू पनि मगायो ।
त्यसपछि २०८२ साल असार ४ गते मोरङ जिल्ला अदालतले आफ्नो फैसला सुनाउँदै शिबेन्द्र र अर्चनालाई मोरङ जिल्ला अदालतमा आएर मुद्दा गर्ने क्षेत्राधिकार नरहेको, उनीहरूले दूषित मनसाय राखेर मोरङमा आई मानाचामल भराउने र सम्बन्ध विच्छेद गराउने गरी मिलापत्र गरेको ठहर गर्दै आफ्नै अदालतमा भएको मिलापत्र नै बदर गरिदिएको छ ।
मोरङ जिल्ला अदालतका न्यायाधीश चित्र बहादुर गुरुङको इजलासले अर्चनाले दायर गरेको फिरादमा शिबेन्द्रको प्रतिउत्तर दूषित मनसायबाट आएको, उनीहरूको स्थायी बसोबास मोरङमा नरहेको आदि कारणबाट मोरङमा क्षेत्राधिकार नै नरहेको र ललितपुरमा चलिरहेको मुद्दामा प्रभाव पार्ने हेतुले मोरङ आएको ठहर गर्दै मिलापत्र र त्यसबाट भए गरेका सबै काम कारबाही नै बदर गरिदिएको छ । सो फैसलासँगै अब शिबेन्द्र र अर्चनाको मानाचामल, अर्चनाको सम्पत्तिमा दाबी नगर्ने मिलापत्र र सम्बन्ध विच्छेद सबै बदर भएको छ ।
मोरङ जिल्ला अदालतको फैसलामा भनिएको छ,
‘अर्चना बस्नेत र शिबेन्द्र बहादुर बस्नेत स्वयमले भरेको स्वघोषणा फारममा निजहरू दुवैको स्थायी वतन, हाल बसोबास गरेको वतन, म्याद तामेल गर्ने वतन समेत ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं. ४ उल्लेख भएको देखिन्छ । निजहरू मोरङमा रहेको कुनै वस्तुगत प्रमाण पेस गरेको देखिँदैन । अर्चना बस्नेत र शिबेन्द्र बहादुर बस्नेत दुवै जना ललितपुरमा रहेको देखिदा त्यहाँको जिल्ला अदालतमा नै अंश मुद्दा दर्ता गरी मिलापत्र गर्नु पर्नेमा सो नगरी निजहरू नरहेको यस मोरङ जिल्ला अदालतमा मुद्दा नम्बर ०७९-सिपी-१८०५ को अंश चलन मुद्दा दायर गरी गरेको मिलापत्र प्रथम दृष्टिमा नै मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ६, १६, १८ को उपदफा (३) बमोजिम अधिकार प्राप्त अदालतबाट भए गरेको देखिँदैन ।’
फैसलामा अगाडि भनिएको छ,
मुद्दा नम्बर ०७९-सिपी-१८०५ को अंश चलन मुद्दामा सोही मुद्दामा उल्लेख गरेको सबै अंशियारहरूलाई समेत वादी प्रतिवादी नबनाई तथा सामेल नगराई केवल अर्चना बस्नेत र शिबेन्द्र बहादुर बस्नेतले पूर्व नियोजित रूपमा निजहरू दुई जना मात्रै उपस्थित भई पहिलो दिन फिराद दायर गर्ने र दोस्रो दिन मिलापत्र गर्ने गरेको देखिन्छ । उक्त अंश चलन मुद्दामा अंशबन्डा गर्नुपर्ने सबै अंशबन्डा हुने सगोलको सम्पत्ति र ऋण धनको फाँटवारी समेत नदेखाई घरसारमा नगद बुझेको भनी मिलापत्र गरेको देखिन्छ । … मिलापत्रको सर्तहरू हेर्दा पनि अर्चना बस्नेत र शिबेन्द्र बहादुर बस्नेतबिच मिति २०६०।६।२५ गते मानो छुट्टिएको मिति कायम गरेको छ । अर्चना बस्नेत र शिबेन्द्र बहादुर बस्नेतले मिति २०६०।६।२५ गते मानो छुट्टिएको मिति कायम गर्नुपर्ने कुनै वस्तुगत आधार देखाउन सकेको देखिँदैन । ललितपुर महानगरपालिका, वडा नम्बर ४ को स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट बनेको ओजस्वी बस्नेतको जन्म दर्ता प्रमाणपत्रमा निज ओजस्वी बस्नेतको जन्म मिति २०६१।४।२७ उल्लेख भएकोले निज ओजस्वी बस्नेत जन्मनु भन्दा ठिक १० महिना अगाडीको मिति यी प्रतिवादीहरूले मानो छुट्टिएको मिति भनी उल्लेख गरेको देखिन्छ । उक्त तथ्यले के कुराको पुष्टि गर्दछ भने ओजस्वी बस्नेत गर्भमा बस्नु भन्दा नै अगाडी अर्चना बस्नेत मानो छुटिई सकेको भनी देखाउन खोजिएको भन्ने देखिन्छ ।’
फैसलामा बवी तथा ओजस्वीको हक कायम नै नहोस् भन्ने उद्देश्य राखी मानो छुट्टिएको मिति कायम गरिएको उल्लेख छ ।
फैसलामा अगाडि भनिएको छ,
‘त्यस्तै, मिलापत्रको सर्तको रूपमा अर्चना बस्नेतको नाममा भएको चल अचल सम्पत्तिमा शिबेन्द्र बहादुर बस्नेतले दाबी नगर्ने, तीन जना छोराछोरीको अंश भाग शिबेन्द्र बहादुर बस्नेतको जिम्मामा रहने भनी उल्लेख गरेको देखिदा सो सर्त समेत सामान्य रूपको देखिँदैन । उक्त सर्तले अर्चना बस्नेतको नाममा भएको सम्पत्तिमा अरूको हक नलागोस् भन्ने अभिप्राय देखिन्छ ।’
मोरङ जिल्ला अदालतबाट भएको फैसलामा शिबेन्द्र र अर्चनाले बवी तथा ओजस्वीको हक अधिकार कुण्ठित पार्ने गरी दूषित मनोभावबाट अंशसहितको मिलापत्र गरिएको उल्लेख गरिएको छ ।
फैसलामा भनिएको छ,
‘… वादी अर्चना बस्नेत र प्रतिवादी शिबेन्द्र बहादुर बस्नेत भएको मुद्दा नम्बर ०७९-सिपी-१८०५ को अंश चलन मुद्दामा मोरङ जिल्ला अदालतबाट मिति २०७९।१०।१० गते प्रमाणीकरण भएको मिलापत्र माथि उल्लेख भए बमोजिम अधिकार क्षेत्र विहीन अदालतबाट भएको तथा अर्चना बस्नेत र शिबेन्द्र बहादुर बस्नेतले एकापसको दूषित मनोभावले अस्वाभाविक सर्तहरू राखी प्रस्तुत मुद्दाको वादी तथा निजको छोरीको अंश हकलाई प्रत्यक्ष रूपमा प्रभावित हुने गरी भएको देखिदा उक्त मिलापत्र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९२ बमोजिम बदर हुने देखिन आयो ।’
यसरी मोरङ जिल्ला अदालतले शिबेन्द्र र अर्चनाबिच २०७९ माघ ९ गते फिराद दायर गरी १० गते भएको मिलापत्र बदर गर्दै मिलापत्र बमोजिम कुनै काम कारबाही भएको भए सो समेत बदर हुने फैसला सुनाएको छ ।

फैसलाका सम्बन्धमा सबै पक्ष तथा उनीहरूका कानुन व्यवसायी उपस्थित भएको कारण फैसलाको जानकारी समेत दिनु नपर्ने र फैसलामा चित्त नबुझे फैसला प्रमाणीकरण भएको मितिले ३० दिनभित्र उच्च अदालत विराटनगरमा जान भनिएको छ ।
यसरी कान्छी श्रीमतीका रूपमा भित्राइएकी आफ्नै पूर्व कर्मचारी बवी रायमाझी तथा उनी तर्फबाट जायजन्म भएकी छोरीलाई चिन्दिन र मुद्दा दायर गर्ने हकदैया नै छैन भनी लिएको जिकिर अदालतले अस्वीकार मात्रै गरेको छैन, कान्छी श्रीमती र उनीतर्फको छोरीको अंश हक नै कायम नरहेको गरी गरिएको मिलापत्र अदालतले बदर गरी शिबेन्द्र र उनकी जेठी श्रीमती अर्चनालाई अदालतले हराइदिएको छ ।
अब ललितपुर जिल्ला अदालतमा मुल्तबीमा रहेको मुद्दाहरू पुनः मुल्तबीबाट जागेर चल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया