परोपकार प्रसूति गृह केवल अस्पताल होइन, राष्ट्रिय धरोहर हाे : मन्त्री पौडेल

लोकपथ
147
Shares

काठमाडौं । देशको विशिष्टीकृत महिला स्वास्थ्य संस्था परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले  विशेष कार्यक्रमकाबिच आफ्नो ६६औँ वार्षिकोत्सव मनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गत वर्षका उपलब्धि, आगामी योजना तथा मातृ शिशु स्वास्थ्यमा पुर्‍याएको योगदानबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

विसं २०१६ सालमा ४० शैय्याबाट सुरु भएको यो अस्पताल हाल ४८९ शैय्यासहित सञ्चालनमा छ । प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको छ भने २ लाख ३३ हजारभन्दा बढी बिरामीले बाहिरंगा विभागमार्फत सेवा लिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रसूति गृहलाई ‘लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर’ को संज्ञा दिँदै यसको ६६ वर्षको यात्रा नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी भएको बताए ।

उनले अस्पतालमा सुरु भएका नियोनेटल स्क्रिनिङ, ह्युमन मिल्क बैंक र आईभीएफ सेवाले मातृ शिशु मृत्युदर घटाउन ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

मन्त्री पौडेलले आगामी दिनमा ११ शैय्या थप गरेर अस्पताललाई ५०० शैय्याको क्षमतामा विस्तार गर्ने र काठमाडौंका दुई नगरपालिकामा २५–२५ शैय्याका स्याटेलाइट प्रसूति अस्पताल निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

अस्पतालका निर्देशक श्री प्रसाद अधिकारीले स्त्रीरोगसम्बन्धी दुरबिन प्रविधिबाट शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवा सुरु भएपछि रिफरल दर घटेको जानकारी दिए । साथै, भूकम्पपछि रोकिएको सरकारी आईभीएफ सेवा पुनः सञ्चालनमा आएपछि निःसन्तान दम्पतीलाई ठुलो राहत पुगेको बताए ।

अस्पतालले लैंगिक हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी), दुर्गमका महिलाको हवाई उद्धारपछिको उपचार तथा विपन्न परिवारका लागि निःशुल्क उपचार जस्ता सामाजिक उत्तरदायित्वमूलक सेवा पनि निरन्तर सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?