सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय रामपुकार राय यादव रहेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ आफ्नै घरको आँगनमा छरछिमेकीसँग गफ गर्दै बसिरहेका यादवमाथि मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले गोली प्रहार गरेका थिए । प्रत्यक्षदर्शीका भनाइअनुसार उनीहरूले ‘रामपुकार को ?’ भनेर सोध्दै यादवको टाउकोमा गोली प्रहार गरेका थिए ।
गम्भीर घाइते यादवलाई उपचारका लागि महोत्तरीको सोनामा गाउँपालिकास्थित स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
गोली प्रहारपछि भाग्दै गरेका व्यक्तिमध्ये एक जना बसन्तपुरमा दुर्घटनामा परेका थिए । उनी घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर जनकपुरमा उपचारका लागि पठाएको छ भने अर्का फरार रहेका छन् । घटनामा संलग्नहरूको पहिचान भइसकेको र अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता राईले बताए ।
स्थानीयका अनुसार मृतक यादव विगतमा मलङ्गवास्थित एक निजी विद्यालयमा शिक्षक थिए । पछिल्लो समय भने उनी खेतीपाती गर्दै आएका थिए र गाउँमा ऋण लगानीसमेत गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया