‘कारागारमा नाइके,भाइनाइके र चौकीदार राख्ने कानुनी व्यवस्था कहीँ पनि छैन’

लोकपथ
11.7k
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनै पनि देशमा नभएको कारागारमा नाइके, भाइनाइके  र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् । 

बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले नेपालमा यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेकोसमेत बताए ।

उनले कारागारमा कैदीबन्दीलाई नै नाइके, भाइनाइके चौकीदार राख्ने व्यवस्थाको बारेमा जानकारी पाएपछि आफूले अन्य देशका कानुनहरुकोखोजी गरेको बताए । तर कुनै पनि ठाउँमा कानुनी व्यवस्था नै गरेर कारागारमा नाइके, भाईनाईके र चौकीदार राखिएको नपाइएको उनले जानकारी दिए ।

नेपालमा भने यसलाई कानुनी मान्यता नै दिएर राखिएको उनको भनाइ छ । कारागार सम्बन्धी नियमावलीको दफा ५३ मा यसको व्यवस्था गरिएको उनले बताए । कानुन बनाउने, नियमावली निर्माण गर्ने त्यहाँभित्र व्यवस्थापन गर्न सहजीकरण हुने सोचेर बनाएको हुनसक्ने भन्दै उनले तर यसले विकृति ल्याएको बताए । नाइके, भाइनाइके चौकीदारहरूले कारागारभित्र सबैलाई दमन गरेर राख्ने गरेको पाइएको उनको भनाइ छ । अझ उनीहरूलाई थप सेवा सुविधा समेत उपलब्ध गराइने गरेको पाइएकोले आफू अलिअलि आश्चर्यमा परेको पनि बताए ।

उनले कारागारमा नाइके, भाइनाइके र चौकीदार राख्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्नेमा जोड दिए । उनले कैलाली कारागारको घटना आकस्मिक रूपमा नभएको पनि बताए । त्यसअघि पनि त्यहाँको कारागारको सुरक्षा, व्यवस्थापनको बारेमा पटक पटक प्रश्न उठ्ने गरेको उनले जानकारी दिए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?