कैलाली कारागार घटनामा छानबिन समिति गठन

लोकपथ
196
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको झडपको छानबिनका लागि समिति गठन गरिएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनेको र प्रतिवेदन आएपछि दोषीमाथि कानुनी कारबाही हुने बताए ।

गृहमन्त्रीका अनुसार उक्त घटनामा एक कैदीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । अस्पतालले रिफर गरेका तीन जनामध्ये दुई जना ट्रमा सेन्टरमा र एक जना त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्  । 

चार जनाको उपचारपछि डिस्चार्ज गरी कारागार पठाइएको छ भने बाँकी ४१ जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । मृतकको शव कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको छ ।

कैलाली कारागारमा हाल ६४३ जना पुरुष र ४७ जना महिला गरी ७०० जना बन्दी छन् । साउन २२ गते राति दुई पुरुष ब्लकबिचको पर्खाल तोडफोड गरी एक ब्लकका बन्दीहरूले अर्को ब्लकमा पुगेर कुटपिट गरेको घटनाबारे विवरण खुलेको छ ।

घटनापछि द्वन्द्वरत समूहका १७ नेतृत्वकर्ता अन्यत्र सरुवा गरिएको, दुई पटक विशेष खानतलासी सञ्चालन गरिएको र कारागार निरीक्षण गरी बन्दीहरूलाई शान्ति–सुरक्षाका लागि सम्झाइएको मन्त्री लेखकले बताए ।

उनका अनुसार अहिले कारागारको अवस्था सामान्य छ र आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?