नेपालको व्यंग्यलाई खनालको जवाफ : ‘पहिला ऐनामा अनुहार हेर्नुहोस्’

लोकपथ
511
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद खुला रूपमा चुलिएको छ । सम्मानित नेता झलनाथ खनाल र पार्टी अध्यक्ष माधवकुमार नेपालबिच सार्वजनिक रूपमा व्यक्तिगत आरोप–प्रत्यारोप भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले खनाललाई ‘एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ’ भन्ने टिप्पणी गरेपछि खनालले साँझै व्यंग्य गर्दै अध्यक्ष नेपाललाई ‘आफ्नो अनुहार ऐनामा हेर्न’ र आफैँ एमाले फर्कने विषयमा सोच्न आग्रह गरेका छन् ।

खनालले एमालेबाट विद्रोह भएको चार वर्ष बितिसक्दा पनि त्यसको औचित्य पुष्टि हुन नसकेको र अध्यक्ष नेपाल स्वयं जनताको बहुदलीय जनवाद (जबज) छोड्न नसकेको आरोप लगाए । उनका अनुसार जबजको मुख्य आधार नेकपा (एमाले) नै भएकाले, जबज छोड्न नसक्ने अध्यक्ष नेपालका लागि एमालेमा फर्कनु तर्कसंगत हुन्छ।

केही समयअघि अध्यक्ष नेपालले पनि पार्टी विद्रोहको औचित्यमाथि प्रश्न उठाउँदै खनालप्रति कडा टिप्पणी गरेका थिए । विवादको समाधानका लागि खनालले सञ्चारमाध्यममार्फत वाकयुद्ध गर्नुको सट्टा १०–१५ दिन लामो केन्द्रीय कमिटीको बैठक बोलाएर वैचारिक विषयमा गहिरो छलफल गर्न सुझाव दिएका छन् ।

उनका अनुसार जबज र वैज्ञानिक समाजवादजस्ता विषयमा पार्टीभित्र स्पष्टता आवश्यक छ र यस्ता छलफलले नै कार्यकर्तालाई प्रशिक्षित गर्न सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?