काठमाडौं । कीर्तिपुर अस्पतालका बाल रोग विशेषज्ञ हुन्, डा. श्रीधर खनाल । विगत ७ वर्षदेखि बालबालिकामा हुने रोगको पहिचान र उपचारमा खटिएका डा. खनाल पछिल्लो समय बालबालिकामा देखिने नेफ्रोटिक सिन्ड्रोम रोगका कारण चिन्तित छन् ।
सुरुमा रोगबारे पहिचान नै नहुने वा नगर्ने र पहिचान भइसकेपछि पनि नियमित उपचार वा निदानमा ध्यान नदिँदा बालबालिकाको मिर्गौला नै फेल भएको र अनाहकमा ज्यान गएको सम्म उनले देखेका छन् । त्यस कारण नेफ्रोटिक सिन्ड्रोमलाई सामान्य रोग नमान्न र समयमै उचित उपचार र निदान गराउन उनी सुझाव दिन्छन् ।
(बालबालिकामा पटक पटक देखिने नेफ्रोटिक सिन्ड्रोम के हो ? यो कस्तो रोग हो, यो किन दोहोरिन्छ ? यो रोगको असरहरू के के छन् भन्ने बारे कीर्तिपुर अस्पतालका बाल रोग विशेषज्ञ डा. श्रीधर खनालसँग लोकपथकर्मी अनिषा खत्रीले कुराकानी गर्नुभएको छ । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।)
के हो नेफ्रोटिक सिन्ड्रोम ?
नेफ्रोटिक सिन्ड्रोम मिर्गौला सम्बन्धी रोग हो । मिर्गौलाको पिसाब छान्ने क्षमतामा गडबडी भएर पिसाबबाट प्रोटिन चुहिनु नै नेफ्रोटिक सिन्ड्रोम हो । शरीरबाट प्रोटिन पिसाबको माध्यबाट बाहिर निस्किएपछि शरीरमा देखिने समस्यालाई नै नेफ्रोटिक सिन्ड्रोम भनिन्छ । तर यसलाई मिर्गौला फेल भएको भने भनिहाल्न मिल्दैन । यो रोग २ वर्षदेखि माथि १० वर्षसम्मको बालबालिकामा बढी मात्रामा देखिने गर्छ । यो रोग यही कारणले लाग्छ भनेर अहिलेसम्म कुनै ठोस अध्ययन र पुष्टि भएको छैन । तर मिर्गौलाको फिल्टरिङ प्रक्रियालाई भाइरल इन्फेक्सन, मिर्गौलाको इन्फेक्सन, वंशाणुगत र अन्य विविध कारणले असर गरेपछि यस्तो सिन्ड्रोम देखिने गरेको छ ।
कस्ता हुन्छन् नेफ्रोटिक सिन्ड्रोमको लक्षण ?
यो रोग लागेका बालबालिकामा सुरुमा उनीहरूको पिसाब धमिलो देखिन थाल्छ, शरीर सुनिन थाल्छ । विशेष गरी बिहानको समयमा उनीहरूको अनुहार सुनिएको वा फुलेको जस्तो देखिन्छ । खुट्टा सुनिनुको साथै बालकहरूमा अण्डकोष पनि सुनिने गर्छ । पेटमा पानी भरिँदै जाने, पेट सुनिने पनि हुने गर्छ । अलि समय भएपछि बिस्तारै बालबालिकाको पिसाबको स्वरूप नै परिवर्तन हुँदै जान्छ, जसमा पिसाबमा फिँज जस्तो देखिने, पिसाबको मात्रा घट्दै जाने जस्ता समस्या पनि देखिन सक्छन् । यस्तो लक्षण देखिसकेपछि भने बालबालिकालाई ढिला नगरी तुरुन्त अस्पताल पुराउनुपर्छ ।

अस्पतालमा यो रोगको पहिचान तथा निदानका लागि बालबालिकामा विभिन्न चेक जाँचहरू गर्ने गरिन्छ । जसमा सबैभन्दा महत्त्वपूर्ण भनेको २४ घण्टाको अवधिको पिसाबको परीक्षण गर्नु हो । यो परीक्षणले पिसाबबाट कति मात्रामा प्रोटिन चुहिएको छ भनेर हेर्न सकिन्छ । त्यो सँगै रगतको परीक्षण गरेर एल्बुमिनको मात्रा कति छ कोलेस्ट्रोलको मात्रा कति छ हेर्न सकिन्छ । कोलेस्ट्रोल बढेको छ, एल्बुमिन घटेको छ र पिसाबबाट प्रोटिन पनि धेरै गएको छ भने त्यस्ता बालबालिकामा नेफ्रोटिक सिन्ड्रोम भएको छ भनेर बुझिन्छ ।
नेफ्रोटिक सिन्ड्रोम र नेफ्राइटिसमा के फरक छ ?
नेफ्रोटिक जस्तै लाग्ने तर अलिकति फरक किसिमको नेफ्राइटिस भन्ने मिर्गौला सम्बन्धी नै अर्को रोग पनि हुन्छ । यो दुई वटा फरक फरक रोग भए पनि कोही कोहीमा भने एकैसाथ दुवै रोगसमेत देखिने गरेको छ । यो हेर्दा र सुन्दा उस्तै लाग्छ, यद्यपि यी फरक फरक रोग हुन् ।
नेफ्रोटिक सिन्ड्रोममा पिसाबबाट प्रोटिन मात्रै चुहिन्छ भने नेफ्राइटिसमा भने पिसाबबाट रगतसमेत जान पनि सक्छ । नेफ्राइटिस देखिने मुख्य लक्षण नै रोगी बालबालिकामा रक्तचाप बढ्नु र पिसाबमा रगत जानु हो ।

नेफ्रोटिक सिन्ड्रोमको उपचार विधि
यो रोगको लक्षण देखा पर्न थालेपछि अभिभावकले ढिलाइ नगरी तत्कालै अस्पताल पुर्याउनुपर्छ । समयमा नै अस्पताल लैजान सकेमा सामान्य अवस्थामा यसको लागि कुनै ठुलो उपचार गर्नु पर्दैन । सामान्य औषधी चलाउँदा पनि ठिक हुन सम्भव छ ।
नेफ्रोटिक सिन्ड्रोम उपचारका लागि बिरामी बालबालिकालाई अस्पतालमा नै भर्ना गर्नुपर्ने हुन्छ । किन भने यस्तो बालबालिकाको दिन दिनै पिसाबको परीक्षण गरी पिसाबबाट कति मात्रामा प्रोटिन बाहिर गएको छ, हेर्नुपर्ने हुन्छ । अनि के कारणले गर्दा नेफ्रोटिक सिन्ड्रोम भएको छ, त्यो पनि पत्ता लगाउनुपर्छ । यदि पिसाबको इन्फेक्सनले गर्दा नेफ्रोटिक सिन्ड्रोम बालबालिकामा देखिएको हो भने सुरुमा पिसाब इन्फेक्सनको उपचार गर्नुपर्ने हुन्छ ।
सबै चेकजाँच गरिसकेपछि मात्र बालबालिकालाई सुरुमा स्टेरोइड नामक औषधी चलाउनुपर्छ । यो औषधीले बालबालिकाको शरीरमा काम नगरेमा मात्र अरू औषधीहरू दिन सकिन्छ । अरू रोगले नेफ्रोटिक सिन्ड्रोम हुने भन्ने हुँदैन, तर युरिन इन्फेक्सन वा युटीआई हुँदा भने यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।
रोग निको हुन कति समय लाग्छ ?
सामान्य अवस्थामा यसको लागि कुनै ठुलो उपचार गर्नु पर्दैन । अस्पतालमा भर्ना हुने, दिनहुँ पिसाब जाँच गरी सामान्य औषधी चलाउनुपर्छ । सामान्य अवस्थामा औषधी सुरु गरिएको ५ देखि ६ हप्तामा यो रोग ठिक हुन्छ । तर कहिले काहीँ कोही कोही बालबालिकालाई भने ठिक हुन दुई महिनासम्म पनि लाग्न सक्छ ।
निको भएपछि पुनः दोहोरिन सक्छ ?
नेफ्रोटिक सिन्ड्रोम रोगको खराब पक्ष भनेको नै निको भइसकेपछि पनि बालबालिकामा पटक पटक दोहोरिनु हो । यो रोग कस्तो अवस्थामा, कस्तो बालबालिकामा दोहोरिन्छ भन्ने पूर्वानुमान गर्न भने सकिँदैन । जुन बालबालिकामा यो रोग पटक-पटक देखिन्छ, त्यस्तो बालबालिकालाई यो रोग अलिकति जटिल हुन सक्छ । किनभने रोग दोहोरिँदै आएपछि त्यसको उपचार र औषधी पनि दोहोरिँदै जान्छ । यस्तो अवस्थामा बालबालिकामा मेडिसिन रेजिस्टेन्स अर्थात् त्यही औषधीले काम नगर्ने वा नछुने समस्या आउन सक्छ । त्यस्तो अवस्थामा बालबालिकाको मिर्गौलाको मासुको जाँच अर्थात् बायोप्सी जाँच समेत गर्नुपर्ने हुनसक्छ ।
यो रोग कस्तो अवस्थामा, कस्तो बालबालिकामा दोहोरिन्छ भन्ने पूर्वानुमान गर्न भने सकिँदैन । जुन बालबालिकामा यो रोग पटक-पटक देखिन्छ, त्यस्तो बालबालिकालाई यो रोग अलिकति जटिल हुन सक्छ ।
नेफ्रोटिक सिन्ड्रोमको प्रकृति बुझ्न जरुरी छ
प्राय जसो सबै रोगको प्रकार हुने गर्छ तर नेफ्रोटिक सिन्ड्रोमको भने प्रकार होइन, प्रकृति बुझ्नुपर्छ । उपचार गर्दै जाँदा उपचारले नछुने, एक पटक निको भएपछि फेरि दोहोरिने, कुनै कुनैमा मिर्गौला बिग्रिँदै जाने, मिर्गौला फेल हुने हो कि होइन भनेर छुट्टाएर यो रोगको प्रकृति बुझ्न सक्नुपर्छ । यसको लागि बालबालिकाको बायोप्सी गरेर रिपोर्ट हेरेर मात्र भन्न सकिन्छ । तर सबै बालबालिकामा बायोप्सी गर्नुपर्छ भन्ने जरुरी हुँदैन ।
दुई वर्षभन्दा माथिका बालबालिकामा यो रोग देखिनुको कारण
यही उमेर समूहका बालबालिकामा नै यो रोग यही कारणले देखिन्छ भन्ने अहिलेसम्म थाहा भएको छैन । तर दुई देखि दश वर्ष उमेरसम्मका बालबालिकामा बढी भाइरल इन्फेक्सन देखिने भएकाले यस उमेर समूहका बालबालिकामा यो रोगको सङ्क्रमण बढी देखिने गरेको छ ।
यो रोगले शरीरको अन्य भागमा असर पुर्याउन सक्छ ?
पिसाबबाट प्रोटिन जाने भएकाले शरीरमा प्रोटिनको मात्रा कम हुन सक्छ । यो रोग लागि सकेपछि फोक्सोमा पानी जम्ने, पेटमा पानी जम्ने, श्वास फेर्न गाह्रो हुने भई अक्सिजनको आवश्यकता पर्न सक्छ । शरीरको मेकानिजम पनि परिवर्तन भइसकेको हुन्छ, जसले गर्दा टाउकोमा रगत जम्न सक्ने (स्ट्रोक) हुन सक्छ । यसको साथै हार्ट फेल हुन सक्ने, निमोनियाहरू भएर श्वास फेर्न गाह्रो भएर ज्यानै पनि जान सक्छ । सङ्क्रमण बढेर सेप्सिस अर्थात् शरीरको प्रतिरक्षा प्रणाली अत्यधिक सक्रिय भई सुजन हुने, रक्तचाप घट्ने र अंगले नै काम नगर्ने अवस्था भई ज्यान पनि जान सक्छ ।
रोग लागिसकेपछि सजगता अपनाउनुपर्छ । यो दोहोरिन सक्ने रोग भएकाले समयमा नै उपचार भएन भने बिरामीको ज्यान पनि जान सक्छ । यस रोग लागेपछि राम्रोसँग ख्याल गरिएन भने उपचार गर्दा गर्दै पनि रोगले ज्यान लिन सक्छ । अभिभावकले आफ्ना बालबालिकामा यो रोग लाग्न नदिन ध्यान दिनु जरुरी हुन्छ ।
यो रोगको लागि ध्यान दिनुपर्ने कुराहरू
हामीले सधैँ बालबालिकाको सरसफाइमा ध्यान दिनुपर्छ । तर नेफ्रोटिक सिन्ड्रोम भइसकेपछि भने अभिभावकले विशेष रूपमा आफ्ना बालबालिकाको शारीरिक सरसफाइमा ख्याल राख्नुपर्छ । यो रोग लागिसके पछि बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्छ, त्यस कारणले भाइरल इन्फेक्सनबाट आफ्ना बालबालिकालाई बचाउनुपर्छ । क्षयरोग जस्ता सङ्क्रामक रोगबाट पीडित व्यक्तिहरूको सम्पर्कबाट बालबालिकालाई टाढा राख्नुपर्छ ।
नेफ्रोटिक सिन्ड्रोममा प्रोटिन शरीरबाट बाहिर जाने भएकाले बालबालिकाको आहारमा ध्यान दिनुपर्छ । प्रोटिन डाइट, अण्डा जस्ता खानेकुरा सहित उच्च प्रोटिनयुक्त आहारमा ध्यान दिनुपर्छ । अवस्था बिग्रन सक्ने वा पुनरावृत्ति गराउन सक्ने सङ्क्रमणको जोखिम कम गर्न इन्फ्लुएन्जा, न्यूमोकोकल (निमोनियाको लागि) र मेनिन्गोकोकल जस्ता खोपहरू आफ्नो बालबालिकालाई लगाउनुपर्छ । यी खोपहरूले सम्बन्धित इन्फेक्सनबाट बचाउ वा कम गर्न काम गर्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया