बागमती नगरपालिकाका मेयर भरतकुमार थापा दोषी ठहर

लोकपथ
4.8k
Shares

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले आज थापालाई दोषी ठहर गर्दै एक वर्ष कैद र ३ करोड बढी जरिवानाको फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई दोषी हठर गरेको हो ।

उनीसहित अन्य व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल चैत २७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

थापाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि भएकाले उनलाई १ वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ बराबरको जरिवाना तोकिएको छ । त्यस्तै आरोपपत्रमा दाबी गरिएको मध्ये बिगो ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ बराबरको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति समेत जफत हुने निर्णय विशेष अदालतले गरेको हो ।

थापासहित लिलाकुमारी मोक्तान, विमलकुमार पोखरेल, विश्वराज पोखरेल र सागर पौडेलविरुद्ध मुद्दा दायर गरिएको थियो ।

त्यसमध्ये थापासहित विमलकुमार पोखरेल र सागर पौडेलले बागमती नगरपालिकाको मूल्य अभिवृद्धि करसहित बिगो ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ को नदीजन्य पदार्थको हानीनोक्सानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर ठहर गरेको विशेषले जनाएको छ ।

त्यस्तै तीनै जनालाई उक्त कसूरबापत हुने सजायको हकमा सजाय निर्धारणका लागि फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ९ बमोजिम सुनुवाइका लागि आगामी साउन २९ गते पेस गर्न समेत आदेश भएको छ । त्यस्तै उक्त मुद्दाका प्रतिवादीहरु लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले आरोप दाबी बमोजिमको कसूर गरेको मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि हुन नसकेको भन्दै उनीहरुलाई सफाइ दिने निर्णय समेत भएको छ ।

अदालतको फैसलाअनुसार, जाँच अवधिमा थापाको कूल आय ९ करोड १४ लाख ३१ हजार हुँदा खर्च भने १२ करोड ५९ लाख ५३ हजार देखिएको थियो। आयभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ बढी देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेपछि अदालतले उक्त रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?