काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य कुसुम महर्जनले प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएकी छन् ।
समानुपातिकको बन्दसूचीमा भएको व्यक्ति प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने कानुनी प्रबन्ध रहेकाले उनले निवेदन दिएकी हुन् ।
रास्वपा प्रवक्ता मनिष झाले महर्जनले निवेदन दिएको पुष्टि गर्दै आज दिउँसो ३ बजे बस्ने पार्टी सचिवालय बैठकमा यो विषयमा छलफल हुने बताए ।
महर्जनले भने आफ्नो व्यक्तिगत चाहनामा भन्दा पनि पार्टीसँग सल्लाह गरेरै नाम फिर्ता लिन खोजेको बताइन् ।
‘रुपन्देही–३ मा पार्टीको राम्रो अवस्था छ, चुनाव लड्ने उद्देश्यले नै नाम फिर्ताको निवेदन दिएको हुँ,’ उनले भनिन्, ‘समानुपातिकको सूचीबाट नाम हटाउने मेरो व्यक्तिगत चाहनाको कुरा होइन । पार्टीकै कुरा हो,’ उनले भनिन् ।
सिद्धार्थ नगरपालिका–८ की स्थानीय बासिन्दा महर्जन व्यवसायको सिलसिलामा काठमाडौं बस्छिन् । उनले आफू नै उम्मेदवार बन्ने सम्भावना पनि व्यक्त गरिन् ।
कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि रास्वपाले उम्मेदवार आह्वान गरेको छ । गत साउन ७ गते रास्वपाले उम्मेदवार आह्वान गरेको थियो । साउन २१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया