राजीनामा दिनुअघि बागमतीका मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् बैठक बोलाए, त्यसपछि पत्रकार सम्मेलन

लोकपथ
2.3k
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

बैठकमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय गर्ने भएका छन् । 

आज बस्ने मन्त्रिपरिषद् बैठकमा एमालेबाट ६ र कांग्रेसबाट मुख्यमन्त्रीसहित ३ मन्त्री मात्र सहभागी हुनेछन् । बैठकमा कांग्रेसका मुख्यमन्त्री लामासहित आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र सामाजिक विकास मन्त्री हरिप्रभा खड्की रहनेछन् । कांग्रेसका अन्य पाँच जना मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन् । 

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने भएका छन् । यसपछि उनले राजीनामा दिनेछन् । 

लामा ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसको भोलिपल्ट उनले पद तथा गोपनीयताको शपथ खाएका थिए । 

स्रोतका अनुसार काठमाडौंमा उपचाररत प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आज हेटौँडा फर्किएमा लामाले प्रत्यक्ष उनलाई राजीनामा बुझाउने अन्यथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत दिने बताइएको छ । 

लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नव निर्वाचित नेता बानियाँ मुख्यमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ । 

कांग्रेस संसदीय दलको नेतामा अर्का नेता बानियाँ विजयी भएपछि पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान राखिरहेका लामा पार्टी सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि राजीनामा दिने निर्णयमा पुगेका थिए ।

लामालाई बिहीबार साँझ कांग्रेस सभापति देउवाले आफ्नै निवास बोलाएका थिए । त्यस दिन मार्गप्रशस्त गर्न सुझाएका देउवाले शनिबार भने मुख्यमन्त्री लामा र अब मुख्यमन्त्री बन्ने बानियाँलाई सँगै राखेर कुरा गरेका थिए । 

सो छलफलमा लामाले राखेका २ सर्त मान्न देउवाले बानियाँलाई निर्देशन दिएका थिए । देउवाको निर्देशन मान्न  बानियाँ सहमत भएपछि लामा आज आइतबार राजीनामा दिन तयार भएका हुन् । 

लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने र नयाँ सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहकार्य गर्नुपर्ने सर्त राखेका थिए । 

लामाले संसदीय दलको नेताको विश्वास गुमाएपछि विवादकै बीच साउन १४ गते प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री पदमा नियुक्ति दिएका थिए । तर सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टि र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अकस्मात् बिरामी परेर उपचार गर्न काठमाडौं आएपछि ती मन्त्रीको शपथ रोकिएको थियो । 

सत्तासाझेदार दल नेकपा एमालेसँग एक वर्षअघि सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् । पूर्वसहमतिअनुसार बानियाँले आगामी फागुनबाट एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेले बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?