काठमाडौं । थाइलैन्डमा रहेका गृहसचिव गोकर्णमणि दुवाडी स्वदेश फर्किएसँगै अब सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस अघि बढ्ने भएको छ ।
बढुवा समितिको सचिवालयले यसअघि सम्भाव्य उम्मेदवारलाई बढुवा प्रयोजनार्थ कागजात बुझाउन असार ३२ गतेको मितिमा १५ दिनको समय दिएको थियो । सो समय साउन १४ गते नै सकिइसकेको छ ।
सशस्त्रको एसएसपी बढुवा समितिमा गृहसचिव अध्यक्ष र सशस्त्र प्रहरी महानिरीक्षक सदस्य तथा एक जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ ।
आवेदनका लागि तोकिएको समयसीमा सकिएपनि गृहसचिव दुवाडी मुलुकबाहिर भएकाले सिफारिस समितिको बैठक बस्न सकिरहेको थिएन ।
स्रोतका अनुसार, वरीयतामा माथि, स्टाफ कलेज उत्तीर्ण तथा उत्कृष्ट र नतिजामूलक कार्य गरेका अधिकृतहरूलाई बढुवामा पहिलो प्राथमिकता दिइने भएको छ ।
सशस्त्रमा हाल एसएसपीको ६ वटा संख्या खाली छ । यसका लागि ४१ जना दाबेदार छन् । उनीहरू सबै सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । सिसं २ बेसिकका दुई जना डीआईजी र दुई दर्जन बढी एसएसपी भइसकेका छन् ।
वरीयताको पहिलो नम्बरमा ध्रुवबहादुर कार्की छन् । स्टाफ कलेजसमेत उत्तीर्ण र कार्यसम्पादनमा अब्बल मानिएका कार्कीलाई पछिल्लो पटक १२ जना बढुवा गर्दा छुटाइएकोमा त्यसबेला नै सशस्त्र प्रहरी नेतृत्वको चर्को आलोचना भएको थियो ।
कार्कीपछिको वरीयतामा उनीसँगै एसपीमा बढुवा भएका जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐर छन् । उनीहरू सबै जना २०७५ साल चैत १२ मा एसपीमा बढुवा भएका थिए । यो मितिमा बढुवा भएका ऐरले भने स्टाफ कलेज गरेका छैनन् ।
सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको दोस्रो लटको एसपी बढुवा भने २०७७ साल जेठ ५ गते भएको थियो । दोस्रो लटमा समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधीर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदी, दीपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, महेश केसी, सञ्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर राउत, सुभाष भण्डारी, राजेन्द्र थापा र द्रोणकुमार विष्ट बढुवा भएका थिए ।
दोस्रो लटमा बढुवा भएका विजयकुमार केसी, प्रकाशकुमार सुवेदी, सुरेन्द्र बुढाथोकी, अर्जुन खत्री, जनकराज बस्नेत, सुभाष भण्डारी र द्रोणकुमार विष्टले स्टाफ कलेज गरेका छैनन् ।
सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकको तेस्रो लटको बढुवा २०७७ माघ ११ गते भएको थियो । त्यतिबेला चित्रांगत दाहाल, गगन श्रेष्ठ, विक्रम होमागाईं, राजकुमार लामिछाने, प्रदीपसिंह कार्की, अरविन्द श्रेष्ठ, शशि पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेशकुमार थापा, तीर्थबहादुर थापा, सूर्यप्रसाद आचार्य, रूपकुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र विनोद केसी एसपीमा बढुवा भएका थिए । यो लटमा बढुवा भएकामध्ये प्रदीपसिंह कार्की, अरविन्द श्रेष्ठ, हर्कराज पन्त, रमेशकुमार थापा, तीर्थबहादुर थापा, सूर्यप्रसाद आचार्य, प्रदीप खड्का र विनोद केसीले स्टाफ कलेज गरेका छैनन् ।
एसएसपी बढुवा सिफारिसपछि एसपी बढुवा सिफारिसको पनि बाटो खुल्ने छ । असार ३२ मा निकालिएको सूचनामा ‘हाल रिक्त रहेका र रिक्त हुन आउने’ भनी उल्लेख गरिएकाले एसपी बढुवाका लागि पहिला एसएसपी बढुवा सिफारिस हुनुपर्छ । एसपी बढुवाका लागि सशस्त्र प्रहरी महानिरीक्षक अध्यक्ष, गृह मन्त्रालयका सहसचिव सदस्य र सशस्त्र प्रहरी नायव महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । सदस्य सचिव भने सशस्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङ तोकिएका छन् ।
यो पटक एसपीमा सिसं ३, साढे ३ र सिसं ४ को सशस्त्र प्रहरी निरीक्षक बेसिकको टोली बढुवामा पर्ने छ ।
सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एक जना डीएसपी यो पटकको बढुवामा पर्नेछन् । यसअघि कारबाहीमा परेकाले उनको बढुवा हुन सकेको थिएन । यस्तै, साढे ३ टोलीका ६ जना पनि एसपीको दाबेदार छन् ।
सिसं ४ टोलीको अन्तिम अन्तिम सूचीतिर सुदूरपश्चिमका धेरै जना रहेकाले गृहमन्त्री रमेश लेखकले उनीहरूलाई मौका दिँदा वरीयतामा अघि रहेका इमानदार, योग्य र स्टाफ कलेज गरेकाहरूमा भने आफू छुट्ने डर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया