दीपक मनाङे जेलमा बस्दा चक्रे मिलनको विशेष बर्थ डे पार्टी : प्रहरी हस्तक्षेपमा चक्रेसहित झन्डै ५० जना पक्राउ

जन्मदिनमा पशुपति क्षेत्रमा पैसा बाँडेका चक्रेलाई समर्थकले महाराजगञ्जसम्म स्कर्टिङ गरेर लगेका थिए

लोकपथ
7.7k
Shares

काठमाडौं । विगतमा गुन्डा नाइकेको छवि बनाएका चक्रे मिलन भनिने मिलन गुरुङलाई महाराजगन्जस्थित एक होटलमा ‘बर्थ डे’ मनाइरहेका बेला प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाँसबारी रोडस्थित होटल साम्बालाबाट उनीसहित झन्डै ५० जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ पर्नेमा ‘गुण्डागर्दी’ पृष्ठभूमिका धेरै छन् । 

प्रहरी स्रोतका अनुसार, चक्रे मिलन समर्थकहरूले दुई दिनअघिबाटै उनको जन्मदिनलाई ‘विशेष’ बनाइरहेका थिए । यही क्रममा हिजो बिहीबार दिउँसो पशुपति क्षेत्रमा गएका चक्रे मिलनले मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरूलाई पैसासमेत बाँडेका थिए । त्यसपछि  उनी ठमेल पुगेका थिए, जहाँ र्‍यापरहरुको समेत उपस्थिति थियो ।  स्रोतका अनुसार, त्यहाँ उनले एक ठाउँमा २० वटासम्म केक काटेका थिए । 

त्यसपछि उनको समूहले उनलाई गाडीहरूको लावालस्करसहित महाराजगञ्जसम्म स्कर्टिङ गरेर लगेको थियो । 

यो सूचना काठमाडौं प्रहरी परिसर र काठमाडौं अपराध अनुसन्धान कार्यालयले समयमै पाएपनि पछिल्लो समय कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिएका कारण के गर्ने भन्ने विषयमा प्रहरी अधिकारीहरू कुनै निर्णयमा पुगेका थिएनन् । 

तर यहीबीचमा प्रहरीलाई उनीहरूलाई नियन्त्रणमा लिन सघाउ पुग्ने एउटा सूचना आयो, जुन सूचना थियो मध्यरातिसम्म उनको समूहले होटलमा बसेर होहल्ला गरेको भन्ने । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली तुरुन्तै ‘मुभ’ भयो र जन्मदिन मनाइरहेका चक्रे मिलनसहित ५० जनालाई एकसाथ नियन्त्रणमा लियो । 

पक्राउ परेकाहरुविरुद्ध के कसुरमा मुद्दा चलाउने भन्ने विषयमा प्रहरी अधिकारीहरू अहिले आन्तरिक छलफलमा छन् । 

काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले नियन्त्रणमा लिइएकाहरूलाई विभिन्न युनिटहरूमा राखेर सोधपुछ भइरहेको बताए । ‘अहिले सोधपुछ र स्क्रिनिङ भइरहेको छ,’ उनले भने । 

प्रहरीले उनीहरूको आपराधिक पृष्ठभूमि, पछिल्लो समय भएका आपराधिक गतिविधि र त्यसमा संलग्नताबारे पनि अनुसन्धान गरिरहेको छ । 

चक्रे मिलन अहिले यस्तो समयमा पक्राउ परेका छन्, जुनबेला उनको सदाबहार प्रतिस्पर्धी भनेर चिनिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ ३१ वैशाख २०६१ सालमा महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा तरबार हानेको कसुरमा डिल्लीबजार कारागारमा छन् । यसैले पनि उनको जन्मदिन यो वर्ष विशेष गरी मनाइएको बताइएको छ । 

चक्रे मिलन विगतमा ठेक्कापट्टा, टेन्डर र मिटरब्याज असुलीमा सक्रिय थिए । प्रहरीले विगतमा गुन्डा नाइकेका रूपमा चिनिएकाहरुविरुद्ध आक्रामक नीति लिएका कारण पछिल्ला दिनमा गुन्डा नाइकेको पहिचानबाट कमै चिनिने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?