काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती प्रदेशका पहाडी क्षेत्रहरूमा भारी वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ भने दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायतका पहाडी क्षेत्रहरूमा व्यापक वर्षा हुन सक्नेछ। बागमती प्रदेशका पहाडी भूभागमा भने केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
वर्षाका कारण भूक्षय, बाढी, गेग्रान बहाब, डुबान तथा साना-ठूला नदीनालामा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ।
महाशाखाले भारी वर्षाले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, यातायात लगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले सबै सरोकारवाला र नागरिकलाई सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया