यूएस-बंगला दुर्घटना : अदालतले स्विकार्‍यो लापरबाही, भरायो करोडौँ क्षतिपूर्ति

दुर्घटनाको ८ वर्षपछि मिल्यो न्याय

काठमाडौं । यूएस बंगला विमान दुर्घटनामा घाइते व्यक्ति र मृतकका परिवारलाई करोडौँ रकमको क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार लापरबाहीकै कारण यूएस बंगला विमान दुर्घटना भएको ठहर गर्दै क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउने १६ जनाका परिवार र घाइते समिरा व्यञ्जनकारलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । २०७६ साल साउन १५ गते दायर भएको ७ थान र २०७६ साल फागुन २८ गते दायर भएको १० थान मुद्दामा अदालतले आइतबार फैसला सुनाएको हो ।
काठमाडौं जिल्ला अदालतले सुनाएको फैसलामा दुर्घटना पाइलट र को पाइलटकै लापरबाहीका कारण भएको ठहर गर्दै अधिकतम ३ करोड ६७ लाख ४३ हजार ७६३ रुपैयाँसम्म क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

जिल्ला अदालतले सुनाएको फैसलामा मृतक १६ जनाको परिवारलाई प्रतिव्यक्ति न्यूनतम ६२ लाख ४४ हजार रुपैयाँदेखि अधिकतम ३ करोड ६७ लाख ४३ हजार रुपैयाँसम्म क्षतिपूर्ति भराउन भनिएको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बंगला एयरको विमान २०७४ फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा जहाजमा सवारमध्ये ५१ जनाको मृत्यु भएको थियो ।

दुर्घटनापछि भएको विभिन्न छानबिनले विमानका पाइलट अविद सुल्तानको लापरबाही र कमजोरीका कारण विमान दुर्घटना भएको तथ्य सार्वजनिक भएको थियो । दुर्घटनाको कारकमा पाइलट सुल्तान मानसिक तनावमा रहेको, को पाइलटलाई इम्प्रेस गर्न खोज्दा दुर्घटना भएको, ककपिटभित्रै चुरोट पिएको लगायतका विषय पाइएको थियो ।

दुर्घटनाको ५ महिनापछि दुर्घटनामा मृत्यु भएकाको परिवार र घाइतेको तर्फबाट क्षतिपूर्तिको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा फिराद दर्ता भएको थियो । मुद्दा दर्ता भएको करिब ६ वर्षपछि काठमाडौं जिल्ला अदालतले साउन ४ गते आइतबार फैसला सुनाउँदै मृतकका परिवार र घाइतेलाई जीवनभर कमाउन सक्ने रकम बराबर क्षतिपूर्ति भराउने गरी फैसला सुनाएको हो ।

जिल्ला अदालतले फैसला सुनाउँदा वारसा कन्भेन्सन अनुसार विमानका चालक वा कम्पनीका कारण दुर्घटना हुँदा असीमित दायित्व निर्वाह गर्नुपर्ने हुन्छ ।

पहिले माग दाबी के थियो त्यो बुझौँ ।
काठमाडौं जिल्ला अदालतमा २०७५ साउन १५ गते दायर भएको फिरादमा विमान दुर्घटना चालक वा विमान कम्पनीको लापरबाहीका कारण भएकाले असीमित दायित्व अन्तर्गत मृतक र घाइतेको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र क्षतिपूर्ति भराउँदा वारसा सम्झौता, मोन्ट्रियल सम्झौता र ओग्डन टेबल्सका आधारमा क्षतिपूर्ति भराउनुपर्ने माग रहेको थियो ।

सुरुमा फिराद दर्ता गर्दा मृतक तथा घाइतेका परिवारका सदस्यहरू लक्ष्मी अवाले, श्याम कुमार महर्जन, दिना महर्जन, यशोदा श्रेष्ठ, रुपा प्रभा शाक्य, लक्ष्मण झा मैथिल बाहुन र मनोज धामीले फिराद दर्ता गराएका थिए । उनीहरूले फिराद दर्ता गराउँदा लिएका आधारहरूमा दुर्घटना पाइलटको लापरबाहीका कारणले भएको कारण क्षतिपूर्ति दायित्व सीमित नभई असीमित हुने र असीमित क्षतिपूर्ति भराउँदा वारसा सम्झौता र मोन्ट्रियल सम्झौता अनुसार भविष्यमा कमाउने रकम, किरिया, आश्रित परिवार सबैको खर्च जोडेर क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका थिए ।

उनीहरूले लिएको मागका केही विषय यस्ता थिए ।
‘… उक्त दुर्घटनामा क्याप्टेन र को पाइलटको चरम लापरबाही भएको थियो । कुनै पनि क्याप्टेन र को पाइलटको पहिलो कर्तव्य भनेको वायुयान अवतरण गर्नु पूर्व वायुयान रनवेको ठिक सेन्टरमा छ कि छैन भन्ने हेर्नुपर्छ । यदि छैन भने वायुयानलाई ‘गो अराउण्ड’ गराई पुनः अवतरण गर्नुपर्ने हुन्छ । अर्को कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संसारको टफ एयरपोर्टको वर्गीकरणभित्र पर्ने गर्दछ । तसर्थ नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार ल्यान्डिङ गर्ने क्रममा लङ फाइनल एप्रोच एवं सर्ट फाइनल एप्रोच गर्दा पनि भिएफआर अन्तर्गत मात्र गर्न पाइन्छ । यसरी रनवे सेन्टरमा छैन भन्ने देख्दा देख्दै जबरजस्ती ल्यान्ड गर्न खोज्नु र वायुयान अनियन्त्रित भई दुर्घटना हुनु चालकहरूको चरम लापरबाहीको कारणले हो । सो तथ्यलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको धारा २६ एनेक्स १३ अनुसार गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ बमोजिम गठित आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदनमा प्रस्ट रूपमा उल्लेख गरेको छ जसको प्रमाणित प्रतिलिपि यसै साथ संलग्न गरेका छौँ ।’

‘… सो को अतिरिक्त क्याप्टेन अविद सुल्तान मानसिक तनाव र भावनात्मक रूपमा अशान्त रहनुका कारण वायुयान अवतरण गर्नुपर्दा अपनाउनुपर्ने आइकाओको अन्तर्राष्ट्रिय मापदण्डको कुनै ख्याल नगरी दुर्घटना भई यात्रुलाई क्षति हुन सक्ने सम्भावित दुष्परिणामतर्फ कुनै ध्यान नै नदिई अनावश्यक, गैर व्यावसायिक र लामो कुराकानीमै व्यस्त रही ककपिटमा रहँदा गरिनुपर्ने सबै मापदण्डलाई उल्लंघन गरी चुरोट समेत पिइरहेको उक्त प्रतिवेदनमा प्रस्टसँग उल्लेख गरिएको छ । यसै गरी जाँचबुझ आयोगको आफ्नो प्रतिवेदनको प्रकरण ३.२.१ मा. सम्भावित कारणहरूका बारेमा उल्लेख गरेको छ । जस अनुसार उक्त वायुयान दुर्घटना क्रू मेम्बरको कमजोरीकै कारण भएको भएको भन्ने उल्लेख भएको ।’

यी विषयहरूलाई लिई उक्त विमान दुर्घटना पाइलटकै गल्तीका कारण भएको कारण यो असीमित दायित्वमा पर्ने भएकाले ओग्डन टेबल्सका आधारमा क्षतिपूर्ति माग दाबी लिइएको थियो ।

यस सम्बन्धमा भएका विभिन्न आदेश र सुनुवाइपछि अन्ततः जिल्ला अदालतले माग दाबी अनुसार नै उक्त दुर्घटनालाई लापरबाहीका कारण भएको ठहर गरी वारसा सम्झौता अनुसार असीमित दायित्वमा पर्ने भएकाले भविष्यमा कमाउने रकमसमेत जोडी क्षतिपूर्तिको निर्धारण गरी पीडित वा उनका परिवारलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । तर दुर्घटनाका समयमा नेपालले मोन्ट्रियल सम्झौता अनुमोदन गरि नसकेको कारण वारसा सम्झौताका आधारमा मात्रै क्षतिपूर्ति भराउने फैसला भएको हो । मोन्ट्रियल सम्झौता अनुसार क्षतिपूर्ति भराउँदा पीडित परिवारले थप रकम पाउने थिए ।

सुरुमा ७ जनाका तर्फबाट मुद्दा दायर भएको भए पनि पछि १७ जनाको तर्फबाट मुद्दा दायर भएको थियो ।

उक्त फिराद दाबी अनुसार नै काठमाडौं जिल्ला अदालतले १७ जना व्यक्तिहरूलाई क्षतिपूर्ति भराउन विपक्षी यूएस बंगला विमान कम्पनीका नाममा आदेश दिएको छ ।

कसले कति पाउनेछन् क्षतिपूर्ति ?
काठमाडौं जिल्ला अदालतले क्षतिपूर्तिका लागि फिराद दर्ता गराएका १७ जनालाई नै वारसा सम्झौता र नेपालको प्रचलित कानुन अनुसार क्षतिपूर्ति भराइदिने फैसला सुनाएको छ । जसमा कसले कति पाउँछन् भनेर उल्लेख गरिएको छ ।

यस्तो छ क्षतिपूर्ति पाउने व्यक्तिको पेसा, व्यवसाय वा अध्ययनको अवस्था, उनीहरूले भविष्यमा कमाउने रकम र आश्रित परिवार समेतको आधारमा निर्धारण गरिएको क्षतिपूर्ति रकम ।

क्र.सं मुद्दा नं. वादी मृतक / घाईते पेसा / व्यवसाय / अध्ययन जम्मा क्षतिपूर्ति रकम (ने.रु.)
०७६-CP-०३४२ श्यामकुमार महर्जनसमेत संजय महर्जन MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४३ राजकुमार महर्जनसमेत मिली महर्जन MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४४ दिपक महर्जनसमेत निगा महर्जन MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४५ यशोदा श्रेष्ठसमेत एन्जिला श्रेष्ठ MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४६ राजभाई शाक्यसमेत आसना श्रेष्ठ MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४७ लक्ष्मण झा मैथिल श्रेया झा MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-०३४८ मनोज धामीसमेत प्रिन्सी धामी MBBS अध्ययनरत २,३४,८७,२६३.५०
०७६-CP-४८३३ थमनबहादुर पाण्डेसमेत प्रसान्न पाण्डे हिमालयन एअरलाइन्स सहायक अफिसर १,४७,४५,५५६.९०
०७६-CP-४८३४ उर्मिला प्रधानसमेत श्वेता थापा MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१० ०७६-CP-४८३५ प्रमोद बुढाथोकीसमेत ज्ञानी कुमारी नर्स ६२,४४,८६४.१६
११ ०७६-CP-४८३६ दामोदर पौडेलसमेत सञ्जय पौडेल MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१२ ०७६-CP-४८३७ चित्रबहादुर लोहनीसमेत पुर्णिमा लोहनी MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१३ ०७६-CP-४८३८ समिरा व्यञ्जनकार समिरा व्यञ्जनकार (घाईते) MBBS अध्ययनरत ६,१०५,३७६.५०
१४ ०७६-CP-४८३९ गम्भीरध्वज थापासमेत डा. बालकृष्ण थापा वरिष्ठ न्यूरोसर्जन ३,६७,४३,७६३.१०
१५ ०७६-CP-४८४० गंगाकुमारी बराल एन्जिला बराल MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१६ ०७६-CP-४८४१ कमला घिमिरेसमेत चारु बराल MBBS अध्ययनरत २,४७,३२,८५६.८०
१७ ०७६-CP-४८४२ रजनी श्रेष्ठसमेत सरुना श्रेष्ठ MBBS अध्ययनरत २,४७,३२,८५६.८०
जम्मा ३७,६६,४७,५४५.९६

*यसअघि ओग्डेन टेबल्सका आधारमा क्षतिपूर्ति भराउने भन्ने भएकामा सच्चाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?