सचिवालय बैठकको निर्णयबारे असन्तुष्ट ईश्वर पोखरेलले खोजे पोलिटब्युरो सदस्यको साथ, निर्णय परिमार्जनमा जोड 

लोकपथ
3.8k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हिजो मध्यरात पार्टी सचिवालय बैठकले गरेको निर्णयलाई पोलिटब्युरो बैठकले परिमार्जन गर्नुपर्ने औँल्याएका छन् । 

उनले आज सामाजिक सञ्जालमार्फत आगामी केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउन पार्टीका पोलिटब्युरो सदस्यहरूलाई आह्वानसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा)माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो, आज पोलिटब्युरो सदस्यहरूका बिचमा छलफल हुनेछ, पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल र बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउनु हुनेछ ।’

एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक्नेगरि दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन सहभागी हुन पाउने निर्णय गरेको सन्दर्भमा पोखरेलले यस्तो आह्वान गरेका हुन् ।

नेकपा (एमाले)को पोलिटब्युरो बैठक पार्टी अहिले १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ । 

आज बस्ने पोलिटब्युरो बैठकले बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले गरेका निर्णयहरूबारे छलफल र अनुमोदन गर्ने जनाइएको छ । 

सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना राख्ने, यसअघि चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाउने निर्णय गरेको थियो । साथै बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ ।

अब एमालेमा तीन तहका संरचना स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन् । 

१५ वटा पदाधिकारीका पदमा अध्यक्ष र महासचिव बाहेक अरू पदलाई के कसरी विभाजन गर्ने भन्ने बारेमा निर्णय भइसकेको नभएपनि अध्यक्ष, महासचिव र उपमहासचिव एक–एक, उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति भएको छ ।

पार्टी उपाध्यक्ष गुरु बरालका अनुसार, केन्द्रीय कमिटीको आकार घटाउने विषयमा पनि नेताहरूबिच लामो छलफल भएको थियो । अब केन्द्रीय कमिटी २५१ सदस्यीय हुने भएको छ । 

जसअनुसार, केन्द्रीय कमिटीका एकतिहाई सदस्य पोलिटब्युरोमा रहनेछन् । अब एमालेको पोलिटब्युरो ८३ सदस्यीय हुनेछ । हाल एमाले पोलिटब्युरो ९९ सदस्यीय थियो । 

सचिवालय र पोलिटब्युरो बैठकले गरेको निर्णय असार ५ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?