एमाले पोलिटब्युरो बैठक १ बजेदेखि बस्दै, सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने

लोकपथ
420
Shares

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १ बजेदेखि बस्दै छ । 

यसअघि बिहान ११ बजे बस्ने भनिएपनि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिहान साढे ११ बजे नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएकाले बैठक दुई घण्टा ढिलो सारिएको हो । 

आज बस्ने पोलिटब्युरो बैठकले बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले गरेका निर्णयहरूबारे छलफल र अनुमोदन गर्ने जनाइएको छ । 

सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना राख्ने, यसअघि चर्चामा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाउने निर्णय गरेको थियो । साथै बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ ।

अब एमालेमा तीन तहका संरचना स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र रहनेछन् । 

१५ वटा पदाधिकारीका पदमा अध्यक्ष र महासचिव बाहेक अरू पदलाई के कसरी विभाजन गर्ने भन्ने बारेमा निर्णय भइसकेको नभएपनि अध्यक्ष, महासचिव र उपमहासचिव एक–एक, उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमति भएको छ ।

पार्टी उपाध्यक्ष गुरु बरालका अनुसार, केन्द्रीय कमिटीको आकार घटाउने विषयमा पनि नेताहरूबिच लामो छलफल भएको थियो । अब केन्द्रीय कमिटी २५१ सदस्यीय हुने भएको छ । 

जसअनुसार, केन्द्रीय कमिटीका एकतिहाई सदस्य पोलिटब्युरोमा रहनेछन् । अब एमालेको पोलिटब्युरो ८३ सदस्यीय हुनेछ । हाल एमाले पोलिटब्युरो ९९ सदस्यीय थियो । 

सचिवालय र पोलिटब्युरो बैठकले गरेको निर्णय असार ५ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?