काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड बढी : कुन शीर्षकमा कति ?

लोकपथ
777
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेट प्रस्तुत गरेको छ ।

आज बसेको महानगरको १७औँ नगरसभा बैठकमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिइन् ।

‘आगामी आर्थिक वर्ष ०८२–०८३ का लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्यय भार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्यवभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गर्न चाहन्छु,’ उपमेयर डंगोलले भनिन् ।

त्यस्तै आगामी आर्थिक वर्षमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौं महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन अनुमान गरिएको छ । त्यस्तै नेपाल सरकार र प्रदेश सरकारबाट सशर्त, समानिकरण र राजश्व बाँडफाटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको समेत उनले बताइन् ।

महानगरले आर्थिक विकासमा ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको उनले बताइन् ।

सामाजिक विकासमा २० प्रतिशत अर्थात् ५ अर्ब २० करोड २८ लाख ६८ हजार प्रस्ताव गरिएको छ । त्यस्तै महानगरले धेरै बजेट पूर्वाधार विकासमा लगाएको छ । उपमेयर डंगोलका अनुसार पूर्वाधार विकासमा ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ ।

यता कार्यालय तथा प्रशासनिक अन्तर्गत १४ प्रतिशत बजेट छुट्याइएको छ । ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

त्यस्तै महानगरले आगामी आर्थिक वर्षका लागि महानगर क्षेत्रभित्रका पूर्वाधार संरक्षण र फोहोरमैला व्यवस्था, शैक्षिक गुणस्तर वृद्धि लगायतलाई उच्च प्राथमिकतामा राखेको छ ।

संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान रहेको छ । तर आन्तरिक किचलोमा महानगर रुमल्लिँदा बजेट ल्याउन ढिलाई भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?