काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने नकारात्मक भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ द्वारा आयोजित एसईई उत्तीर्ण विद्यार्थीको सम्मान कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरे ।
‘देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउने प्रयास भइरहेको छ। जसले जे भने पनि त्यही पत्याएर लहैलहैमा लाग्नु हुँदैन,’ उनले भने, ‘सत्य तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ। विगतमा के थियो र अहिले के परिवर्तन भएको छ भन्ने कुरा बुझ्न अग्रजहरूसँग संवाद गर्न जरुरी छ ।’
उनले देशमा अझै धेरै गर्न बाँकी भए पनि केही पनि नभएको भन्ने धारणा तथ्यविहीन भएको बताए । शिक्षा क्षेत्रको सन्दर्भमा सिंहले विगतको तुलनामा उल्लेखनीय प्रगति भएको जिकिर गरे। ‘हाम्रो पालामा विषय छनोटमा सीमितता थियो, अहिले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध छ,’उनले स्मरण गरे ।
देशलाई विकास र निर्माणको बाटोमा अघि बढाउने जिम्मेवारी सबैको भएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले त्यसमा आफूहरू गम्भीर भएर लागिपरेको बताए ।
विदेश जानु पर्ने बाध्यता पहिलेको जस्तो नरहेको भन्दै उनले विद्यार्थीहरूलाई देशमै उच्च शिक्षा हासिल गर्न आह्वान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया