सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया सुरु, मनिष थापाको सम्भावना बलियो 

लोकपथ
3.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एक नायव महानिरीक्षक .(डीआईजी) पदमा बढुवाका लागि सूचना निस्केसँगै आकांक्षी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दौडधुप सुरु भएको छ । 

बढुवा समितिको सचिवालयका तर्फबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहालको नामबाट बिहीबार निकालिएको सूचनामा सम्भाव्य उम्मेदवारलाई आवश्यक कागजात बुझाउन पाँच दिनको समय दिइएको छ । 

वरीयताका आधारमा सबैभन्दा अगाडि एसएसपी कृष्णराज पाठक छन् । नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका उनले यो पटक जसरी पनि बढुवामा पर्न लबिइङलाई तीव्र पारेका छन् । तर कमजोर कार्यसम्पादनका कारण उनी यो पटकको बढुवामा पर्ने सम्भावना न्यून रहेको स्रोतको भनाइ छ । 

स्रोतका अनुसार, सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसएसपी मनिष थापा यो पटकको बढुवामा पर्ने सम्भावना बढी छ । यसअघि सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दुई जनालाई बढुवा गर्दा उनलाई छुटाइएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल थापालाई बढुवा गर्नुपर्ने पक्षमा रहेको पनि स्रोतको भनाइ छ । 

यस्तै बढुवाका लागि सम्भाव्य उम्मेदवारमा प्रविण कँडेल, दिगविजय सुवेदी, कमल तिउसिना, नीरकृष्ण अधिकारीलगायत छन् । कँडेलप्रति भने सशस्त्र प्रहरी नेतृत्व असन्तुष्ट रहेको स्रोतको भनाइ छ । गत ११ र १२ असारमा भएको सशस्त्र प्रहरीको वरिष्ठ अधिकृत सम्मेलनमा सशस्त्रको नेतृत्वप्रति आधारहीन आक्षेप लगाएका कारण उनीप्रति आईजीपी अर्याल असन्तुष्ट छन् । उनलाई कारबाही गर्ने पनि तयारी भइरहेको छ । कँडेल नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । 

सुवेदी, तिउसिना र अधिकारी भने सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?