रुपन्देही–३ उपनिर्वाचन : रास्वपाबाट को बन्दैछ उम्मेदवार ?

लोकपथ
2.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अघि बढाएको छ ।

पार्टी सचिवालयको बैठकले उम्मेदवार छनोटका लागि आवश्यक कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको राय संकलनका लागि पठाएको छ ।

सोही कार्यविधिअनुसार केही दिनभित्र उपनिर्वाचनका लागि इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरिने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तोकिएको प्रक्रिया अनुसार उम्मेदवार छनोट गरिनेछ ।

बैठकले सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही–३ को उपनिर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यको नेतृत्व गर्न जिम्मेवारी दिएको छ ।

पार्टीले उपनिर्वाचनलाई गम्भीरतापूर्वक लिएको संकेत दिँदै छिट्टै उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ ।

निर्वाचन आयोगले आगामी कार्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति घोषणा गरेको छ । त्यसअघि नै सो क्षेत्रमा चुनावको सरगर्मी बढिसकेको थियो ।

रास्वपाबाट समेत केही व्यक्तिहरु सो क्षेत्रमा उम्मेदवार बन्ने चर्चा चल्न थालेको छ । तर रास्वपाले भने उम्मेदवार छनोटका लागि पार्टी सदस्यहरुको राय संकलन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?