काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग विदेश भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्को निर्णयबाट हुने भएकाले भ्रमणमा गएकामध्ये सबै फर्किएको स्पष्ट पारेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा सहभागी प्रतिनिधिमण्डल उतै बसेको भन्ने टिप्पणीप्रति आपत्ति जनाउँदै यस्तो दाबी गरेका हुन् ।
‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका मानिसहरू उतै बसेको भन्ने कुरा उठेको छ । तर, हामीले कुनै पनि विषयको न्यूनतम ज्ञान र जानकारी राख्नुपर्छ,’ उनले भने, ‘सदनमा जिम्मेवार भएर मर्यादित ढंगले विषयवस्तु प्रस्तुत गर्दा राम्रो हुन्छ ।’
गृहमन्त्री लेखकले प्रतिनिधिमण्डल सरकारको निर्णयअनुसार तय हुने र सार्वजनिकसमेत हुने भएकाले यस्ता आरोप तथ्यविहीन भएको बताए । साथै, को व्यक्ति नफर्किएको हो भनेर प्रस्ट रूपमा देखाउन चुनौतीसमेत दिए ।
‘प्रधानमन्त्रीसँग जानुभएको प्रतिनिधिमण्डल सरकारबाट निर्णय भएर गएको हो । त्यो सबैलाई थाहा छ । को मानिस फर्केनन् भने भनिदिनुहोला,’ उनले भने ।
यो विषय सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले उठाएकी थिइन् । तर गृहमन्त्री लेखकले अनुमान र कल्पनाका आधारमा कुरा नगर्न र तथ्यका साथ बोल्न आग्रह गरे । ‘असत्यको पुलिँदा बाँधेर कहीँ पनि पुगिँदैन,’ उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया