निरन्तरको वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध, बिपी राजमार्ग भने दुईतर्फी नै सञ्चालन

लोकपथ
280
Shares

काठमाडौं । निरन्तरको वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । 

प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।

बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् । 

बिपी राजमार्ग भने दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मंगलटार, काभ्रेका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, फेदीखोला र रोशी–७ को चार सय बेशीमा खहरेखोलाबाट आएको लेदो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

उनका अनुसार मंगलबार राति १ बजेदेखि अवरुद्ध सडक लेदो पन्छाएपश्चात् दुईतर्फी नै सञ्चालनमा आएको छ । 

सडक विभाग, स्थानीय रोशी गाउँपालिका र प्रहरीको समन्वयमा लेदो पन्छाइएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरूलाई काभ्रेतर्फ काभ्रेभञ्ज्याङ र भकुन्डेमा तथा सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सवारीलाई खुर्कोटमा होल्ड गरिएको थियो ।

प्रहरीले अवरुद्ध सडकहरू खुलाउनका लागि सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेको र यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?