काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको नाम अनुमोदन गरेको छ । समितिले एकजना न्याय परिषद् सदस्यको नाम पनि अनुमोदन गरेको छ ।
संसदीय समितिको आज सोमबार बिहान बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, वरिष्ठ अधिवक्ता मेघराज पोखरेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको हो । यस्तै, समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ ।
माओवादीले भने अनुमोदनमा असहमति जनाएको छ । निर्णयमा असहमति जनाउँदै माओवादी सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।
समिति सदस्य तथा माओवादी सांसद जगप्रसाद शर्माले व्यक्तिप्रति आफूहरूको असहमति नभएको, संविधानको मर्मअनुसार न्यायाधीश नियुक्ति समावेशी नभएकाले बैठक बहिष्कार गरिएको बताए । समावेशी आधारमा नियुक्ति गर्नेतर्फ ध्यान नदिइएकाले आफूहरूले बैठक बहिष्कार गरेको उनको भनाइ थियो ।
प्रस्तावित न्यायाधीशसहितको सुनुवाइ असार १६ गते नै सकिए पनि ’होल्ड’मा राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया