बागमती प्रदेशसभा बैठकमा अवरोध : बजेटको पूरक प्रस्तावको अडानमा माओवादी

लोकपथ
553
Shares

हेटौँडा । बागमती प्रदेशसभाको बैठक प्रतिपक्ष दलको अवरोधका कारण रोकिएको छ । माओवादी केन्द्रले सरकारबाट बजेटको पूरक प्रस्ताव ल्याउनुपर्ने अडान लिएपछि बैठक निर्धारित समयमै सुरु हुन सकेन ।

शनिबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँसी ३ बजेसम्म सारिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बजेट कार्यक्रमबाट छुटेका विषयहरू समेटेर पूरक प्रस्ताव संसदमा नल्याएसम्म बैठक सञ्चालन हुन नसक्ने स्पष्ट पारे ।

उनका अनुसार शुक्रबारदेखि सरकारसँग निरन्तर छलफल जारी छ । ‘सहमति भएको विषय कार्यान्वयन गर्न र पूरक प्रस्ताव ल्याउन हामीले सरकारलाई माग गरेका छौँ, ‘ढकालले भने, ‘अन्यथा बैठक अघि बढ्दैन ।’

यसैबीच, मुख्यमन्त्री बहादुरसिंह लामाको सचिवालयले सरकार उक्त विषयलाई सकारात्मक रूपमा लिएर काम गरिरहेको जनाएको छ । सचिवालयका एक सदस्यका अनुसार माओवादीको मागअनुसारका कार्यक्रमहरू सङ्कल्प प्रस्तावमा समेटी पूरक प्रस्तावका रूपमा संसदमा ल्याउने तयारी भइरहेको छ ।

‘सङ्कल्प प्रस्तावलाई पास गरेर सरकारलाई निर्देशन दिने र त्यसकै आधारमा छुटेका कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइएको छ,’ती सदस्यले जानकारी दिए ।

तर, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले भने तत्काल पूरक प्रस्ताव ल्याउने सम्भावना नरहेको बताएका छन् । उनले प्रतिपक्षको मागको विषयमा निष्कर्ष ननिस्किएको भन्दै संसद् सञ्चालनमा अन्योल रहेको बताएका छन् ।

प्रदेशसभामा जारी बजेट विवादले राजनीतिक सहमतिको अभाव झनै देखिएको छ भने बैठक कहिले सुचारु हुने भन्ने विषय अन्योलमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?