काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शहरी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न योजना सार्वजनिक गरेको छ।
शहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको जानकारी गराएको हो।
त्यस्तै, एक सय झोलुङ्गे पुलको मर्मत तथा ४० वटा नयाँ सडक पुल निर्माण र ३० वटा सडक पुल मर्मत गरिने मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले जानकारी दिए।
उनका अनुसार २४९ वटा सिँचाइ आयोजना सम्पन्न भई ३ हजार ७ सय हेक्टर जमिन सिँचित हुने, एक सय किलोमिटर नयाँ सडक निर्माण तथा ३ सय किलोमिटर सडक कालोपत्रे गरिनेछ। साथै, ६० वटा स्थानीय प्रशासकीय भवन निर्माण गरिने योजना रहेको छ।
उपत्यका केन्द्रित विशेष योजना
सरकारले काठमाडौं उपत्यकामा नदी तथा खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति गर्ने, २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने, चार स्थानमा जग्गा एकीकरणको भौतिक विकास कार्य अघि बढाउने योजना ल्याएको छ। साथै, सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने अभियानलाई प्राथमिकता दिने भएको छ।
हरित विकास र सरसफाइमा जोड
सरकारले हरियाली प्रवर्द्धन, आकाशे पानी संकलन, वन तथा पोखरी संरक्षण, उपत्यकाका खोलाहरूको सरसफाइ, ऐतिहासिक मठमन्दिर, पाटीपौवाको जिर्णोद्धार एवं मर्मत सुधार कार्य पनि अघि बढाउने जनाएको छ।
खेलकुद र प्रदर्शनी पूर्वाधार
किर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्टेडियम निर्माणको दोस्रो चरण सुरु गरिने, सिंहदरबार परिसरको गुरुयोजना अनुसार शहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको भवन तथा सभामुख र प्रधानन्यायाधीशको आवास निर्माण सुरु गरिनेछ। भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल र मनोरञ्जन पार्क निर्माण योजना पनि अगाडि बढाइने भएको छ।
नयाँ कानुनी पहल
शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन, नगर विकास कोष, बस्ती विकास, बागमती सभ्यता संरक्षण लगायतका विषयमा सम्बन्धित विधेयक र नियमावली तयार गर्ने प्रक्रियामा रहेको जानकारी दिएको छ।
सरकारले बागमती, विष्णुमती, मनोहरा र नख्खु खोलामा गत वर्षको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणलाई पनि प्राथमिकता दिएको छ। शहरी विकासको बहुआयामिक कार्ययोजनासँगै सरकारले पूर्वाधार निर्माण र संरक्षणलाई तीव्रता दिने संकेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया