काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदलाई प्रभावकारी बनाउन सांसदहरू र सरकार दुवै गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
संसद् दिवस २०८२ को अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद्मा सांसदहरूले उठाएका जनसमस्या कार्यान्वयनमा नपुग्दा संसदप्रतिको जनआस्था कमजोर भइरहेको बताए।
‘सांसदहरूले संसद्मा जनताका समस्या उठाउँछन्, मन्त्रीहरूले जवाफ दिन्छन्, तर कार्यान्वयनमा ढिलासुस्ती र उदासिनता देखिन्छ,’अध्यक्ष दाहालले भने, ‘यही प्रवृत्तिले संसद्को प्रभावकारितामा प्रश्न उठाएको छ।’
उनले सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा बजेट लैजानु मात्र होइन, नीतिगत बहस र कार्यान्वयनमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
अध्यक्ष दाहालले वर्तमान राजनीतिक अवस्था, अर्थतन्त्र र जनजीविकाको सवालमा सांसदहरूले जिम्मेवार भूमिका निर्वाह गरे मात्र संसदप्रतिको जनविश्वास बलियो हुने स्पष्ट पारे।
‘जनताको बिचमा गएर भाषण गर्ने र क्षेत्रीय बजेटमा सीमित रहेर होइन, संसद्मा प्रभावकारी बहस र गम्भीरता जरुरी छ,’उनले भने।
अन्त्यमा उनले सरकारलाई सांसदहरूले उठाएका मुद्दा समयमै सम्बोधन गर्न आग्रह गर्दै संसद्को भूमिकालाई प्रभावकारी बनाउन सबै पक्ष गम्भीर बन्नु पर्ने आवश्यकता औँल्याए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया