सशस्त्रमा असारभित्रै डीएसपीदेखि डीआईजीसम्म बढुवाका लागि सूचना निकाल्ने तयारी 

लोकपथ
5.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलमा यही असारभित्रै नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्मको बढुवा प्रक्रिया सुरु हुने भएको छ । 

साउन लागेपछि तत्कालै बढुवा प्रक्रिया सुरु गर्न नमिल्ने भएकाले असारभित्रै डीएसपी, एसपी, एसएसपी र डीआईजीको बढुवाका लागि सूचना निकाल्ने तयारी भइरहेको उच्च स्रोतको दाबी छ । यसका लागि केही दिनको ‘ग्याप’ राखेर सूचना निकाल्ने तयारी भइरहेको छ । 

डीएसपी र एसपीको बढुवा सशस्त्र मुख्यालय र एसएसपी र डीआईजीको बढुवा गृह मन्त्रालयबाट हुने गर्छ । 

स्रोतका अनुसार, साउन लागेपछि पनि बढुवा गर्नेगरी असारभित्रै सूचना निकालेर बढुवा प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ । 

सशस्त्र प्रहरीमा हाल डीआईजीको एक पद रिक्त छ । सुरुमा डीआईजीको लागि आवेदन खुलाइने र त्यसपछि अन्य पदमा क्रमशः आवेदन खुलाउने तयारी भइरहेको छ । 

स्रोतका अनुसार, माथिल्ला पदको पदपूर्ति गर्दै तल्लो तहको पदपूर्ति गर्ने तयारी छ । यसरी पदपूर्ति गर्दा तल्लो तहका बढीभन्दा बढी लाभान्वित हुनेछन् । 

माथिल्लो पदको बढुवा गर्दै जाँदा एसपीमा २२ पद रिक्त हुने छ । यो पटक एसपीमा सिसं ३, साढे ३ र सिसं ४ को सशस्त्र प्रहरी निरीक्षक बेसिकको टोली बढुवामा पर्ने छ । 

सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एक जना डीएसपी यो पटकको बढुवामा पर्नेछन् । यसअघि कारबाहीमा परेकाले उनको बढुवा हुन सकेको थिएन । यस्तै, साढे ३ टोलीका ६ जना पनि एसपीको दाबेदार छन् । 

सिसं ४ टोलीको अन्तिम अन्तिम सूचीतिर सुदूरपश्चिमका धेरै जना रहेकाले गृहमन्त्री रमेश लेखकले उनीहरूलाई मौका दिँदा वरीयतामा अघि रहेका इमानदार, योग्य र स्टाफ कलेज गरेकाहरूमा भने आफू छुट्ने डर छ । 

उता, सशस्त्र प्रहरी मुख्यालयले करिब १ महिनाको बिचमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवलदारसम्म २ हजार १ सय ९६ जनाको बढुवा गरेको छ । 

बढुवा हुनेमा सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकमा ११ जना, नायव निरीक्षकमा ३४ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव निरीक्षक ६ जना छन् । त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवलदारमा ६०३ जना, हवलदारमा ७५९ जना र सहायक हवलदारमा ७८३ जना बढुवा भएका हुन् । 

मुख्यालयले बढुवा हुनका लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि १० दिनभित्र बढुवा फाराम भर्न भनिएको थियो । 

त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवलदार, हवलदार र सहायक हवलदार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो । 

बढुवा मूल्यांकन फारामको लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरूको प्रतिलिपिहरू संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न समेत भनिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?