काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलनको अवस्था देखिएको टिप्पणी गरेका छन्।
संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा बोल्दै उनले विचार विहिनताको अवस्थाले आम नागरिकमा निराशा बढ्दै गएको बताए। बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यका लागि सिफारिस महेशकुमार नेपालको कार्य योजना प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।
न्यायाधीश थापाले कार्य योजना प्रस्तुत गरेपछि सांसद शर्माले प्रश्न उठाउँदै भने, ‘यसलाई सच्याउने योजना के छ ?’ उनले समाजमा विचार विहिनताको अवस्था बढेको र लोकतन्त्र कुनै एक वर्ग वा जातिको लागि मात्र नहुने धारणा व्यक्त गरे।
उनले भने, ‘लोकतन्त्र सबै वर्ग, जाति र लिङ्गको समावेशितामा आधारित हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर हामी आवाज उठाइरहेका छौँ। समावेशी सिफारिस भएकोमा खुसी लाग्यो।’
सांसद शर्माले हाल देखिएका घटनाहरूले प्रगतिशील दिशाबाट पछि हट्ने संकेत गरेको उल्लेख गरे। साथै, उनले न्यायाधीशले गल्ती गर्न नहुने भए पनि बोलचाल गर्न नपाउने भन्ने नहोस् भन्ने धारणा पनि राखे।
उनले सबैले मिलेर एउटा सुसूचित समाज निर्माण गर्ने दायित्व रहेको उल्लेख गर्दै न्याय क्षेत्रमा सुधारको खाँचो औँल्याए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया