काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय कम्युनिष्ट आन्दोलन दिशाहीन बन्दै गएको गुनासो गरेका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आन्दोलनमा राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक तहमा गम्भीर विचलन देखिएको स्वीकार गरे ।
‘हिजोको आदर्श, त्याग र तपस्याको भावना अहिले हराउँदै गएको छ,’दाहालले भने, ‘जनताको सेवा र वर्ग मुक्ति गर्ने प्रतिवद्धता जताउँदै अघि बढेका थियौँ, तर अहिले पद र व्यक्तिगत स्वार्थको लागि तँछाडमछाड भएको छ ।’
उनले पार्टीभित्रै पनि विचारभन्दा व्यक्तिगत प्रतिष्ठा र लाभलाई प्राथमिकता दिने प्रवृत्ति मौलाएको उल्लेख गरे । हालै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकमा यस प्रकारको विचलन झनै देखिएको उनले प्रस्ट पारे ।
दाहालले भने, ‘हामी जुन वर्ग र समुदायप्रति समर्पित भएर अगाडि बढ्नुपर्ने हो, त्यसप्रति पर्याप्त नजिक हुन सकेनौं । यस्तो स्थितिमा कम्युनिष्ट वर्गले देखेको सपना पूरा हुन सक्दैन ।’
उनको भनाइले कम्युनिष्ट आन्दोलनभित्रको आन्तरिक कमजोरी र दिशाविहीनतालाई औँल्याएको विश्लेषण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया