काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षाको नतिजामा सकारात्मक सुधार आउँदा पनि अनावश्यक आलोचना भएको भन्दै आपत्ति जनाएका छन् । उनले केही विद्वानले अंक थपेर पास गराइयो भन्ने टिप्पणी गरेर विद्यार्थीको मेहनतको अपमान गरेको बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतको तुलनामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १४ प्रतिशतले नतिजा सुधार भएको उल्लेख गरे । उनले ४८ प्रतिशतबाट बढेर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु सुखद् उपलब्धि भएको भन्दै सफल विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
‘यो खुशीको कुरा हो । यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । गत वर्षको भन्दा १४ प्रतिशतले नतिजा राम्रो भएको छ । सफल विद्यार्थीलाई बधाई दिन चाहन्छु, उनीहरूको सफलताको शुभकामना दिन चाहन्छु,’प्रधानमन्त्री ओलीले भने, ‘विद्यार्थीले गरेको मेहनतलाई होच्याउने, अपमान गर्ने कुरा दुःखद छ । नेपाली विद्यार्थीमा उचाइ चुम्ने क्षमता छ ।’
प्रधानमन्त्रीले शिक्षकहरूको भूमिकाको समेत प्रशंसा गर्दै मेहनतपूर्वक पढाउने शिक्षकलाई धन्यवाद दिए । साथै, सरकारले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने वातावरण बनाउने योजना अघि बढाइरहेको जानकारी दिए । उनले विद्यार्थीहरू फेल नहुने शैक्षिक संरचना निर्माण गर्नुपर्ने धारणा पनि राखे ।
प्रधानमन्त्री ओलीको यो भनाइ एसईई नतिजाप्रति सामाजिक सञ्जाल र केही बौद्धिक वृत्तबाट उठेको आलोचनाको प्रतिक्रियाका रूपमा आएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया