गायिकाद्वयको ‘डिजिटल प्रतिरोध’प्रति प्रधानमन्त्रीको समर्थन – ‘साहसी छोरीहरू’को संज्ञा

लोकपथ
427
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानप्रति समर्थन जनाएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले ‘साहसी छोरीहरू’ भन्दै उनीहरूको साहसको प्रशंसा गरेका हुन्।

उनीहरूद्वारा सामाजिक सञ्जालमा भइरहेको अनावश्यक गालीगलौज र ट्रोलिङविरुद्ध आवाज उठाएको विषयमा प्रधानमन्त्रीले साथ दिँदै भनेका छन्, ‘समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो।’

प्रधानमन्त्री ओलीले समाजमा जस्तोसुकै सकारात्मक काम गर्दा पनि गाली व्यहोर्नुपर्ने प्रवृत्तिको आलोचना गर्दै यस्ता प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने उल्लेख गरेका छन्। ‘समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन,’उनले लेखेका छन्।

प्रधानमन्त्रीको उक्त समर्थनपछि गायिका एलिना चौहानले स्टाटस सेयर गर्दै कडा कानुनको माग समेत गरेकी छन्। गायिका समीक्षा अधिकारी र एलिना चौहानले पछिल्ला दिनमा सामाजिक सञ्जालमा भइरहेका आक्षेपपूर्ण टिप्पणीविरुद्ध प्रतिरोध गर्दै आएका छन्। उनीहरूको यस्तो प्रतिरोधलाई ‘डिजिटल प्रतिरोध’ भनेर सामाजिक सञ्जाल प्रयोगकर्ताले व्याख्या गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?