काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने ठाउँका मतदाताहरूलाई लक्षित गर्दै मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
आयोगले विभिन्न तहमा रिक्त पदहरूमा उपनिर्वाचनको तयारी गरेको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यो सूचना जारी गरिएको हो । उनले र यथाशीघ्र छिटो नाम दर्ता गराउनुपर्ने बताए ।
निर्वाचन आयोगले उपनिर्वाचन हुने ठाउँका लागि केही दिनमै निर्वाचन मिति घोषणा गर्दै छ । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबिच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो ।
हाल प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) रिक्त छ । रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको थियो ।
रुपन्देही ३ मा राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य दीपक मनाङे जेल गएपछि पद रिक्त भएको हो । यसैगरी, स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया