शनिबार स्पेन भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

लोकपथ
1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि आगामी शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

उनी स्पेनको भ्रमणका क्रममा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्रीको भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको र स्पेनस्थित नेपाली समुदाय स्वागतका लागि उत्साहित रहेको जानकारी स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानकारी दिए ।

भ्रमण अवधिमा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस क्रममा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्वपूर्ण सहमतिपत्रमा नेपाल र स्पेनबीच हस्ताक्षर हुने दूतावासले जनाएको छ।

यसबाहेक, प्रधानमन्त्रीले भ्रमणका क्रममा स्पेनमा रहेका नेपाली समुदायका सदस्यहरू तथा त्यहाँका उद्योगी-व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ। सम्मेलनकै सिलसिलामा अन्य उच्चस्तरीय भेटघाटसमेत हुने बताइएको छ।

स्पेन पश्चिम युरोपमा अवस्थित संसदीय प्रजातन्त्रात्मक र संवैधानिक राजतन्त्रात्मक शासन प्रणाली भएको मुलुक हो। करिब ५ लाख ५ हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो देशको जनसंख्या लगभग ४ करोड ७४ लाख रहेको छ। सन् १९८६ मा युरोपेली संघमा र सन् १९९५ मा सेन्जेन क्षेत्रमा समावेश भएको स्पेन विविधतायुक्त समाज र खेलकुद संस्कृति भएको देश पनि हो।

स्पेनमा २० हजारभन्दा बढी फुटबल क्लब तथा १० लाखभन्दा बढी रजिष्ट्रर खेलाडीहरू रहेका छन्। त्यस्तै, स्पेनिस भाषा विश्वको चौथो सबैभन्दा धेरै बोलिने भाषा मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?