प्रचण्ड भन्छन् : ‘प्रहरी सरकारको अनुहार हो’

लोकपथ
406
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रहरीको भूमिका जनताका लागि सरकारको प्रतिविम्ब हुने बताएका छन्।

उनले प्रहरी प्रशासनलाई ‘सरकारको अनुहार’ को संज्ञा दिँदै फिल्डस्तरमा देखिएको कमजोरी हटाउन आवश्यक कानुन संशोधनको माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दाहालले भने, ‘प्रहरीले राम्रो काम गर्‍यो भने जनताले सरकारको काम राम्रो भएको अनुभव गर्छन्। तर, अहिले पनि फिल्डस्तरमा जनताले तीतो अनुभव गरिरहेका छन्।’

उनका अनुसार प्रहरीको नेतृत्व तहमा सुधार देखिए पनि कार्यान्वयन तहमा अझै कमजोरीहरू छन्। ‘हाम्रो त्यति राम्रो अनुभव छैन। माथिल्लो लिडरसिप लेभलमा कुरा गर्दा त ठिक देखिन्छ, तर फिल्डमा गएका तीतो अनुभव धेरै छन्,’दाहालले भने।

दाहालले ती कमजोरी रोक्न र जनतामैत्री सेवा प्रवाह गर्न नेपाल प्रहरीसम्बन्धी कानुन परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले थपे, ‘लोकतन्त्रलाई सुदृढ गर्ने र जनतालाई सेवा दिने उपायका रूपमा यो विधेयक अघि बढाउनुपर्छ।’

समितिको बैठकमा बुधबार नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो। दाहालले गणतन्त्रलाई सुधार गर्ने आधारका रूपमा व्यापक बहस आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?