चितवन दुर्घटना : चालकका हतारोले गयो ७ जनाको ज्यान, दुर्घटना मानवीय कारणबाट

यातायात विज्ञ भन्छन्, ‘ईभी गाडीमा खराबी छैन, चालकलाई ज्ञान कम भयो’

लोकपथ
10k
Shares

काठमाडौं । चितवन दुर्घटना मेकानिकल इरर अर्थात् यान्त्रिक गडबडीका कारण नभई मानवीय कारणबाट भएको खुलेको छ । दुर्घटनाको अवस्था, प्रत्यक्षदर्शीको भनाइ र यान्त्रिक जाँचपछि दुर्घटना चालकका हतारोको कारण भएको खुलेको हो ।

गत असार ७ गते बिहान सवा १० बजे चितवनको राप्ती नगरपालिका ४ डडुवामा ईभी भ्यान र यात्रुवाहक बस एक आपसमा ठक्कर खाई ठुलो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गर्भवती महिलासहित एकै परिवारका तीन सदस्य तथा गर्भमा रहेको शिशु तथा अन्य चार गरी ७ जनाको मृत्यु भएको थियो । घटनामा १८ जना घाइते भएका थिए ।

शनिवार बिहान सवा १० बजे हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको ईभी भ्यान र धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको मितेरी यातायातको यात्रुवाहक बस आपसमा ठक्कर खाँदा गम्भीर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सबै ईभी भ्यानमा सवार यात्रुहरू थिए भने ईभी भ्यान चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

चितवनमा भएको उक्त भयानक दुर्घटनाले अहिले चितवन र मकवानपुर मात्रै होइन, देश नै पीडामा रहेको छ । तर यो दुर्घटनाका कारणबारे भने खासै चर्चा गरिएको छैन । यति भयानक दुर्घटना किन र कसरी भयो तथा ईभी भ्यानको अगाडिको भाग पूरै गाडीको मुनी छिर्दासमेत पछाडिको भागमा किन केही भएन वा गाडीको सिसासमेत किन फुटेन भनेर प्रश्नहरू आइरहेका छन् ।

यी सबै विषयहरूमा प्रवेश गर्नुभन्दा पहिले चितवनको राप्ती ४, डडुवामा भएको दुर्घटनाको घटनास्थल, त्यहाँको भूगोल, त्यहाँको गतिको सीमितता, त्यहाँ चल्ने सवारीसाधनको औसत गति आदि बुझ्नुपर्ने हुन्छ ।

औसतमै ६० किलोमिटर प्रतिघण्टामा चल्छन् डडुवा सवारीसाधन
शनिवार बिहान चितवनको राप्ती नगरपालिका ४, डडुवामा ईभी भ्यान र यात्रुवाहक बस दुर्घटना भएको स्थान राजमार्ग अर्थात् हाइवे हो । यो राजमार्ग भएर पूर्वतर्फ सवारीसाधन जाने आउने गर्छन् र यो राजमार्ग व्यस्त राजमार्ग पनि हो । त्यस्तै दुर्घटनामा परेको हेटौंडाबाट नारायणगढ चल्ने ईभी भ्यान पनि नियमित यात्रुवाहक भ्यान नै हो ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार राजमार्गहरूमा पनि अधिकतम ५० किलोमिटर प्रतिघण्टा भन्दा बढी रफ्तारमा सवारीसाधन चलाउन पाइँदैन । दुर्घटना भएको डडुवा नजिकै रहेको टिकुली जङ्गल क्षेत्र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले त्यहाँ अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गतिमा मात्रै सवारीसाधन चलाउन पाइन्छ । तर जहाँ गम्भीर दुर्घटना भयो, त्यस स्थानमा औसतमा पनि ६० किलोमिटर प्रतिघण्टाका दरले सवारीसाधन चल्ने गरेको चितवन ट्राफिकका प्रमुख इन्स्पेक्टर गायत्रीराज शर्माले बताए । हाइवेमा कतिमा चलाउन पाउने भन्ने स्पष्ट नीति र निर्देशिका नभएको कारण कारबाही गर्न समेत कठिन रहेको इन्स्पेक्टर शर्माले बताए । तर पनि उक्त राजमार्गमा औसत वा सामान्य अवस्थामा ६० किलोमिटर प्रतिघण्टाका दरमा सवारीसाधन चल्ने गरेको छ ।

दुर्घटना हुनुभन्दा अगाडि के भएको थियो ?

शनिवार बिहान दुर्घटना हुनुभन्दा अगाडिदेखि उक्त क्षेत्रमा पानी परिरहेको थियो । पानी परिरहेको भए पनि ईभी भ्यान र यात्रुवाहक बस दुर्घटना हुँदा दुवै सवारीसाधनको गति अत्यधिक रहेको पाइएको छ । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ईभी भ्यान र धनगढीबाट काकडभित्तातर्फ गइरहेको दुवै बसको गति त्यति बेला करिब ८० किलोमिटर प्रतिघण्टाको दरमा रहेको एक प्रत्यक्षदर्शीले बताए ।

दुर्घटनालाई आफ्नै आँखा अगाडि देखेका यात्रु कुमार थपलियाका अनुसार ईभी माइक्रोले तीन वटा ट्रकलाई एकै पटक ओभरटेक गर्न खोज्दा दुर्घटना भएको थियो । यता धनगढीबाट काकडभित्ता जान लागेको बसले पनि अगाडि रहेको बसलाई ओभरटेक गर्दा दुवै सवारीले एक अर्कालाई नदेख्दा दुर्घटना भएको हो । यद्यपि दुर्घटनाको क्षति भने सानो गाडी भएकाले ईभी भ्यानले मात्रै ब्यहोर्नुपर्‍यो ।

प्रत्यक्षदर्शी थपलिया भन्छन्, ‘तीव्र गति नै दुर्घटनाको कारण हो’

जुन स्थानमा दुर्घटना भएको थियो, सोही स्थानमा रहेको अर्को बसमा यात्रा गर्दै थिए, कुमार थपलिया । पेसाले थपलिया पनि सवारीचालक नै हुन् र उनी नारायणगढ क्षेत्रमा म्याजिक भ्यान चलाउँछन् । उक्त दिन उनी काम विशेषले नारायणगढबाट हेटौंडा जाँदै थिए र उनी बसको अगाडिको भागमा थिए ।

प्रत्यक्षदर्शी कुमार थपलिया ।

उनी चढेको बस अगाडि बढ्दै गर्दा हेटौंडाबाट नारायणगढतर्फ आइरहेको ईभी भ्यान आफूभन्दा अगाडि रहेको तीन वटा ट्रकलाई एकै पटक ओभरटेक गर्न तीव्र गतिमा आइरहेको थियो । दुई वटा ट्रकलाई अ‍ोभरटेक गरी तेस्रो ट्रकको नजिक पुग्न लागेपछि उनी चढेको बसले ब्रेक लगाएर ईभी भ्यानलाई अगाडि जान दिन खोज्यो । थपलिया चढेको बस करिब ४० किलोमिटर प्रतिघण्टा जतिको रफ्तारमा हुँदा उनी भन्दा पछाडि रहेको मितेरी यातायातको बसले थपलिया चढेको बसलाई ओभरटेक ग¥यो । धनगढीबाट काकडभित्तातर्फ जाँदै गरेको उक्त बसको गति पनि करिब ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको थपलियाले बताए ।

अगाडि रहेको बसलाई ओभरटेक गरेर मितेरी यातायातको बस आफ्नो लेनमा आइसकेको थियो । तर तीन वटा ट्रकलाई ओभरटेक गर्न खोजेको ईभी भ्यानले दुई वटा ट्रकलाई ओभरटेक गरेको भए पनि एउटा ट्रकलाई ओभरटेक गर्न सकेको थिएन । अनि अगाडि रहेको ट्रकले पनि ईभी भ्यानलाई साइड दिइरहेको थिएन ।

दुवै सवारीको गति अत्यधिक धेरै रहेको तथा सवारी चालकले अर्को सवारी देखेका थिएनन् । जसका कारण दुवैले एक्कासि ओभरटेक गर्दा यो गम्भीर दुर्घटना हुन पुग्यो ।

दुर्घटनालाई प्रत्यक्ष देखेका थपलिया अगाडि भन्छन्, ‘यसको कारण भनेको नै तीव्र गति र लापरबाही नै हो । यहाँ सबैले ईभीको मात्रै गल्ती देखाएका छन्, त्यस्तो त हुँदै होइन । एकै पटक तीन वटा ट्रक ओभरटेक गर्न खोज्नु ईभी चालकको गल्ती हो । तर यसमा मितेरी यातायातको बस र ट्रकको पनि गल्ती छ, त्यही कारण दुर्घटना भयो ।’

सडकमा उबडखाबड भएको कारण ईभी चिप्लियो : प्रत्यक्षदर्शी थपलिया

दुर्घटनालाई प्रत्यक्ष देखेका थपलिया तीव्र गति, चालकको लापरबाही बाहेक सडक पनि अर्को कारण रहेको बताउँछन् । थपलिया भन्छन्, ‘जहाँ दुर्घटना भयो, त्यो ठाउँमा पिच गरेको पनि मिलेको थिएन । त्यहाँ कहीँ खाल्डो त कहीँ उठेको थियो । अनि पानी परिरहेको अवस्थामा राम्रोसँग सडक देख्न पनि सकिँदैन । उबडखाबड भएको र पानी परेको तथा अर्को बस एक्कासि ओभरटेक गरेर आएको कारण गलत लेनमा रहेको ईभी चालकले ब्रेक लगाउँदा पनि रोकिने समय पाएनन् । ब्रेक लगाएपछि गति त घटेको थियो, तर ईभी रोकिन नसकेपछि विपरीत लेनमै आएर बससँग ठोक्कियो र दुर्घटना भयो ।’

थपलिया भन्छन्, ‘ब्रेक फेल त भएको होइन’
चितवन दुर्घटनालाई कतिपयले ईभी भ्यानको ब्रेक फेल भएको कारण दुर्घटना भएको समेत भनेका छन् । तर दुर्घटनाका प्रत्यक्षदर्शी थपलिया भने त्यो मान्न तयार छैनन् । ईभी भ्यानले ब्रेक पनि लगाएको तर ब्रेक लगाउँदैमा एकै पटक नरोकिने थपलियाले बताए । उनले भने, ‘म पनि सवारी चालक हो, ब्रेक लगाउँदैमा त्यहीँको त्यहीँ त कहाँ गाडी रोकिन्छ र ! ब्रेक लगाएपछि केही स्लो त भएको थियो, तर रोकिएको होइन । त्यसमाथि पानी परेको बेलामा गाडी चिप्लने पनि गर्छ । ब्रेक फेल हुँदा ब्रेक नै नलाग्ने हुने हो, त्यो गाडी त हुत्तिएको हो, त्यस कारण ब्रेक फेल त भएको होइन नै भन्ने लाग्छ ।’

यातायात विज्ञ भन्छन्, ‘ईभीको ज्ञान चालकलाई भएन’
चितवन दुर्घटनाका सम्बन्धमा ट्राफिक इन्जिनियर तथा यातायात विज्ञ आशिष गजुरेल पनि तीव्र गति नै दुर्घटनाको कारण मान्छन् । ईभी गाडीका चालकले एक्कासि ओभरटेक गर्नु र ओभरटेक गर्दा गतिमा नियन्त्रण गर्न नसक्नु नै दुर्घटनाको कारण रहेको इन्जिनियर गजुरेलले बताए ।

गजुरेलका अनुसार ईभी गाडी वा डिजेल गाडीको उत्पादन वा क्षमता मै समस्या भएको नभई त्यसको प्रयोगमा भने जानकारी अझै नपुगेको बताउँछन् ।

गजुरेल भन्छन्, ‘ईभी गाडीको इफिसियन्सीको बारेमा त कुनै शंका छैन, त्यसमा कुनै कम्प्रोमाइज पनि छैन । तर समस्या कहाँ हो भने यसको प्रयोगका सन्दर्भमा चालकलाई पर्याप्त जानकारी छैन, दुर्घटनाको कारण त्यही नै देखिएको छ ।’

गजुरेलका अनुसार ईभी गाडीमा गियर नहुने भएकाले तत्कालै गाडीको स्पिड बढ्ने र ब्रेक लगाउँदा बिस्तारै लाग्ने भएकाले गति बढी हुँदा कन्ट्रोलमा समस्या देखिएको छ ।

गजुरेल भन्छन्, ‘डिजेल गाडीमा स्पिड कन्ट्रोल गर्न ब्रेक र गियर दुवै हुन्छ, तर ईभी गाडीमा गियर नहुँदा ब्रेकमा मात्रै भर पर्नुपर्छ । त्यसै गरी स्पिड बढाउँदा पनि गियर भएको गाडीले बिस्तारै पिकअप लिन्छ भने ईभी गाडीले तत्कालै पिकअप लिन्छ । त्यस्तो हुँदा पहिले डिजेल वा पेट्रोलको सवारी चलाएर पछि ईभी चलाएका चालकहरू झुक्किने पनि गर्छन् र ढिलो हुन्छ वा छिटो हुन्छ भन्दा भनेको जस्तो नभएर दुर्घटना भएका छन् । तर ईभी गाडीका अधिकांश दुर्घटनाका कारणमा तीव्र गति नै देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?