काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समिति अस्वीकार गरेको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले समितिमा पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वप्रति आपत्ति जनाउँदै समितिले निष्पक्ष छानबिन गर्न नसक्ने दाबी गरे ।
उनले भने, ‘शंकरदास वैरागी सत्ताको सधैं प्रिय पात्र हुन्। उनी स्वयं सक्षम निकायहरूको रडारमा छन्। यस्तो व्यक्तिले कसरी निष्पक्ष छानबिन गर्ने ?’
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । तर रास्वपाले वैरागीमाथि पूर्वका टेलिकम घोटालामा समेत रहस्यमय संलग्नता रहेको आशंका गर्दै उनको नियुक्तिलाई स्वीकार गर्न नसकिने बताएको हो ।
डा. वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि परोक्ष संलग्नता देखिएको र प्रत्यक्ष संरक्षण रहेको दाबी गरे। ‘गृहमन्त्री स्वयं सन्देहको घेरामा छन् । उहाँकै प्रस्तावमा समिति बनेको छ, त्यसैले यो गलत छ,’उनले भने ।
उनले समितिका पदाधिकारीहरूको पुनरावलोकन नभए आफूहरूको आन्दोलन जारी रहने चेतावनी पनि दिए। रास्वपासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने टिप्पणी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया