काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन् ।
शनिबार ललितपुरमा स्यस्यः समाज, यलको ११औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।
भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरूप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउने गरी अघि बढिरहेको उनको भनाइ छ ।
उनले नागरिकको जनजीवन सहज बनाउनका लागि राजनीतिक स्थिरताको आवश्यक भएकाले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहितका केही अन्य राजनीतिक दलको सरकार बनेको बताए ।
सबै एकैचोटी विकास गर्न जादुको छडी कोहीसँग नरहेको भन्दै प्रतिकुल अवस्थाबाट अनुकूलतातर्फ लैजान सरकारले काम गरिरहेको उल्लेख गरे ।
अर्थतन्त्रमा आएको अफ्ठ्यारोपनलाई हटाउनका लागि सरकारले लहलहैमा र पपुलिस्टका कार्यक्रमहरू दिएर नभई देशलाई सम्हाल्ने, व्यवस्थालाई टिकाइराख्ने किसिमले अघि बढेको बताए ।
सरकारले शुक्रबार जारी गरेको नीति तथा कार्यक्रमबाट पनि देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिस्थितिलाई सम्हाल्ने गरी आएको देखिने स्पष्ट पारे ।
उपप्रधानमन्त्री सिंहले धेरै संघर्ष गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको भावना र मर्मअनुरुप अभ्यास गर्न पाएकै कारण अहिलेको अधिकार प्राप्त भएको उल्लेख गरे । अधिकार मात्रै माग्ने भन्दा आफ्नो जिम्मेवारी पनि सँगै निभाउन सक्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया