काठमाडौं । न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक आज पनि बस्ने भएको छ । देशभरका अदालतमा रिक्त रहेका न्यायाधीश पदपूर्तिका लागि न्याय परिषद् बैठक आज पनि बस्ने भएको हो ।
आइतबार साँझ बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । सोही निष्कर्ष ननस्किएका कारण सोमबार पनि बैठक बस्न लागेको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आइतबार साँझ ५ बजे सुरु भएको बैठक करिब दुई घण्टा चलेको थियो । बैठकमा न्यायाधीश नियुक्तिको विषयमा गहन छलफल भए पनि सहमति नजुटेको परिषद् स्रोतले जनाएको छ।
यसअघि गत बिहीबार पनि न्याय परिषद्को बैठक बसेको थियो, तर त्यतिबेला पनि नियुक्तिका विषयमा एकमत हुन नसकेको थियो। हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतहरूमा गरी ३३ न्यायाधीशको पद रिक्त छ ।
प्रधानन्यायाधीश राउत अध्यक्ष रहेको परिषदमा सदस्यहरू कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का तथा सदस्यसचिव यमबहादुर बुढा मगर छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया