काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंमा भएको घटना आपराधिक र विध्वंसात्मक कार्य भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।
तीनकुने भएको घट्नाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको समेत बताए । उनले तीनकुने घटना आपराधिक र विध्वंसकारी घटना भएकोले फौजदारी कानुनी प्रक्रियाबाट नै छानबिन हुने जिकिर गरे ।
सांसदहरुले घट्नाको सत्य तथ्य छानबिन गर्न छानबिन आयोग गठन गर्न माग गरेका थिए । गृहमन्त्री लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घट्नाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानबिन गर्ने बताए ।
सार्वजनिक सम्पत्ति लुटपाट, आगजनी र अराजकता गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको समेत उनको भनाइ छ । तीनकुने प्रदर्शनका कमाण्ड दुर्गा प्रसाईं पक्राउ परेको समेत उनले समितिलाई जानकारी दिए ।
उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजी गर्नु कुनै पनि हिसाबले उचित नहुने बताए । त्यस्तै जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको समेत उल्लेख गरे ।
उनले तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने काम अघि बढिसकेको बताए । घटना घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने उनको भनाइ छ । बैठकमा सांसदहरुले तीनकुने घट्नाको जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई बनाउनु पर्ने धारणा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया