काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनमा फोहोरमैला भएबापत काठमाडौं महानगरपालिकाले तोकेको जरिबाना बुझाएको छ । प्रदर्शनमा फोहोरमैला गरेको भन्दै काठमाडौं महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिबाना तोकेको थियो ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको खातामा १ लाख रकम आजै दाखिला गरेको बताएका छन् ।
‘हामी सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं,’ उनले फेसबुकमा लेखेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत विभिन्न राजावादी शक्तिहरूले आइतबार जनप्रदर्शन गरेका थिए । उक्त जनप्रदर्शनका सहभागीहरूबाट एयरपोर्ट तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडकमा फोहोर मैला र भौतिक क्षति भएको महानगरले जनाएको थियो । महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिबाना लगाएको जनाएको थियो ।
केही महिनाअघि एमालेले काठमाडौंको दरबारमार्गमा गरेको जागरणसभाका क्रममा फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो । एमालेले अहिलेसम्म पनि उक्त जरिवाना तिरेको छैन । ‘महानगरपालिकाले दुईपटकसम्म जरिवाना पत्र लिएर एमालेको केन्द्रीय कार्यालयमा प्रतिनिधि पठाएको थियो,’ काठमाडौं महानगरपालिकाका प्रमुखको सञ्चार सहयोगी सुरेन्द्र बजगाईंले भने, ‘एमालेले पत्र बुझ्न नमानेपछि इमेलमार्फत पनि जरिवाना पत्र पठाइएको छ । त्यस्तै हुलाकमार्फत पनि पत्र पठाइएको छ ।’
महानगरले पत्र काटेपछि एमाले नेता/कार्यकर्ता उल्टै महानगरप्रमुख बालेन्द्र शाहमाथि राजनीतिकरुपमा जाइलागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया