प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

लोकपथ
294
Shares

रुपन्देही । प्रधानमन्त्री कप पुरुष क्रिकेटका सम्पूर्ण खेल अहिले लुम्बिनी प्रदेशका तीन वटा खेल मैदानमा हुने भएको छ । यसको लागि तीन वटै खेलमैदानसँगै प्रतियोगिताको सबै तयारी पूरा भएको छ । 

लुम्बिनी प्रदेश क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत यस पटक ४६ खेल खेलाइने छ । यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना हुँदैछ । 

लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङका अनुसार यी सबै रंगशालामा प्रतियोगिता सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ । प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० टोलीले सहभागिता जनाउँदै छन् । यी सबै टोलीले एक अर्कासँग खेल्नुपर्नेछ । गुरुङका अनुसार सबै रंगशालामा सबै टोलीले खेल्ने गरी प्रतियोगिताको तालिका मिलाइएको छ ।

यसअनुसार रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा उद्घाटन र फाइनल खेल गरी सम्मा १७ खेल हुनेछन् । एक्स्ट्राटेक ओभलमा १५ र लमहीको देउखुरी रंगशालामा १४ खेल हुनेछन् । गुरुङले प्रधानमन्त्री कप लुम्बिनीमा हुनुले यस क्षेत्रको क्रिकेटसँगै होटेल तथा पर्यटन व्यवसाय चलायमान हुने बताए। 

‘हामी एकदमै उत्साहित छौँ र नेपाल क्रिकेट संघप्रति आभारी छौँ, किनभने पहिलो पटक प्रधानमन्त्री कपका सम्पूर्ण खेल उपत्यका बाहिर हुँदैछन्, ‘उनले भने, ‘नेपाल क्रिकेट संघ(क्यान)ले क्रिकेटलाई देशको सम्पूर्ण भागमा पुर्‍याउनुपर्ने उद्देश्यसहित यो निर्णय स्वागत योग्य छ ।’

प्रतियोगिताका लागि भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा पिच मर्मतदेखि पेभेलियन व्यवस्थापन एवं अन्य सबै तयारी पूरा भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए । उनले सात दिन अगावैबाट मैदानमा हुने अन्य सबै खेल स्थगित गरी प्रतियोगिताको तयारी गरिएको बताए । 

गत वर्ष प्रधानमन्त्री कपअन्तर्गत ११ वटा खेल सिद्धार्थ रङ्गशालामा भएका थिए । यसले नेपाल क्रिकेट संघको विश्वास जित्न ठूलो सहयोग गरेको र त्यसैको फलस्वरूप प्रतियोगिताका अहिले सबै खेलहरू लुम्बिनी प्रदेशमा आउन सफल भएको उनको भनाइ छ । 

यसैगरी तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको पनि सम्पूर्ण तयारी पूरा भएको रंगशालाका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए । नेपालमै पहिलो पटक निजी क्षेत्रबाट ‘फ्लड लाइट’ सहितको क्रिकेट रंगशालाको स्थापना गरेको कुँवरले प्रतियोगिताले लुम्बिनी प्रदेशको क्रिकेटमा रहेको क्षमता देखाउने अवसर मिलेको बताए । तीन वटा पिच, फ्लड लाइट, शौचालय, चेन्जिङ रुम पेभेलियनलगायत सबै तयार रहेको उनले जानकारी दिए । 

यसअघि काठमाडौंमा दुई वटा मात्र खेलमैदान भएका कारण राउण्ड रोबिनका आधारमा प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट संघलाई अप्ठ्यारो हुँदै आएको थियो । यसले गर्दा प्रतियोगितालाई काठमाडौंबाट बाहिर लैजाने वातावरण बनेको नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले बताए । 

‘पिचलगायत सबै दृष्टिले लुम्बिनी प्रदेशका तीन वटै खेलमैदान उत्कृष्ट भएका कारण क्यानले यहाँ प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो, ‘सिंहले भने, ‘यसले भोलिका दिनमा ‘ए’ ग्रेडका खेलाडीको छनोटका लागि यहाँको भूमिका महत्त्वपूर्ण हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?