काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले संसद्मा प्रस्तुत गरेको अध्यादेशमा समर्थन गर्ने जनाएको छ ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले सो कुरा बताएका हुन् ।
सरकारलाई समर्थन गरेर अहिले पनि सत्तारुढ दलकै बेन्चमा बसेका कारण जसपाले अध्यादेशमा समर्थन गर्ने बताए ।
‘अध्यादेश पारित गर्न प्रतिनिधिसभामा समस्या छैन । तर राष्ट्रिय सभामा जसपाले नेपालले समर्थन गर्छ । हिजो पनि भोट हालेको पार्टी हो । सत्ता पक्षको बेन्चमा बसेको छ,’ घिमिरेले बैठकपछि सञ्चारकर्मीहरुसँग भने, ‘उहाँहरूले समर्थन गर्नुहुन्छ । अध्यादेश पारित हुन्छ । शर्तका कुरा भोलि थाहा पाउनुहुन्छ ।’
त्यस्तै उनले सरकारले कानुनी र कार्यविधिमा स्पष्ट पार्न अध्यादेश जारी गरेको बताउँदै त्यसको विरोध गर्नुको कुनै कारण नरहेको समेत बताए ।
‘सरकारले कानुनी र कार्यविधिमा स्पष्ट पार्न अध्यादेश जारी गरेको हो । ‘यसैले अध्यादेशलाई विरोध गर्नुपर्ने, विषयवस्तुमा विरोध गर्नुपर्ने कारण छैन,’ उनले भने ।
आज संघीय संसद्को दुवै सदनको बैठकमा ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुनसक्ने सम्भावना रहेको छ । तर राष्ट्रिय सभामा अध्यादेश पास गराउन जसपा नेपाल निर्णायक रहेको छ । जसपाले विभिन्न शर्तमा अध्यादेशमा सहयोग गर्ने चर्चा समेत चलिरहेको छ ।
सोही विषयमा छलफलका लागि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया