काठमाडौं । धादिङबेसीबाट काठमाडौं जाँदै गरेको एक माइक्रोबसमाथि सोमबार बिहान रुख बजारिँदा घाइते भएकाहरुको पहिचान खुलेकोे छ ।
धादिङबेसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोबसमाथि गजुरी–५ जरेखोलानजिक रुख बजारिएको थियो । प्रहरीका अनुसार माइक्रो बसमा १५ जना सवार थिए । जसमध्ये १० जना घाइते भएकोमा ६ जनाको अवस्था सामान्य र ४ जना मध्यम घाइते रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका धादिङको नीलकण्ठ नगरपालिका–३ पुछार बजार बस्ने २६ वर्षीया निन्दु शाहको टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै सोही ठाउँका ५० वर्षीय शिवराज अधिकारी दाहिने हातमा चोट लागेको छ । उनको अवस्था पनि सामान्य छ ।
नीलकण्ठ नगरपालिका– ३ शान्तबजारकी ३१ वर्षीया सुनिता घिमिरेको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम छ । नीलकण्ठ–३ कै बीचबजार बस्ने ४० वर्षीय रमेश अधिकारीको दुबै हातमा चोट लागेको छ । उनको अवस्था पनि सामान्य नै छ । बीचबजारकै १४ वर्षीय डिलबहादुर गुरुङको अवस्था पनि सामान्य छ । उनको टाउकोमा चोट लागेको छ ।
धादिङको खनियाबास गाउँपालिका–४ खट्करीकी २६ वर्षीया उर्मिला थापा मगरको अवस्था भने मध्यम छ । उनको बायाँ पाखुरामा चोट लागेको छ । छातीमा चोट लागेका रुबी भ्याली गाउँपालिका– १ का ७२ वर्षीय निर्माग तामाङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
नेत्रावती गाउँपालिका–४ का २२ वर्षीया सञ्जु भुसालको दुवै हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । ज्वालामुखी गाउँपालिका–६ का ३८ वर्षीय निदेश तिमिल्सिनाको अवस्था सामान्य छ । उनको दायाँ हातमा चोट लागेको छ । मुगुको रारा नगरपालिका–३ का २२ वर्षीय गंगाराम चौलागाईंको पेट र बायाँ हातमा चोट लागेको छ । घाइतेमध्ये ७२ वर्षीय निर्माग तामाङलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ९ जनाको गजुरीस्थित अस्पतालमा उपचार भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया