इटहरी । इटहरी–१४ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले उपमहानगरबाट भएको त्रुटिका कारण खातामा जम्मा हुन आएको ८० लाख रुपैयाँ ‘अपचलन’ गरेको खुलेको छ ।
आर्थिक वर्ष २०७९/८० मा शिक्षकको तलब (तीन महिना)बापत इटहरी उपमहानगरले विद्यालयलाई ७ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने थियो । तर, उपमहानगरका कर्मचारीको लापर्बाहीका कारण विद्यालयको खातामा ८० लाख रुपैयाँ बढी रकम जम्मा भएको थियो । सो रकम विद्यालयको खातामा जम्मा भएको २२ महिना भएपछि मात्रै घटना बाहिरिएको हो । घटना बाहिरिए पनि विद्यालय र उपमहानगरले भने घटना सामसुम बनाउने प्रयास गरेका हुन् ।
२०७९ सालको साउन, भदौ र असोज (चाडपर्व खर्चसमेतको) तलबभत्ताबापत उपमहानगरले ७ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने भए पनि ८८ लाख २४ हजार २ सय ४३ रुपैयाँ भुक्तानी दिएको थियो । यसरी हेर्दा ८० लाख ८७ हजार ५ सय ८० रुपैयाँ रकम बढी दिएको पाइन्छ । सो रकम विद्यालयमा जम्मा भएको २२ महिनापछि मात्रै आन्तरिक लेखापरीक्षणले बेरुजु देखाएपछि उपमहानगरले थाहा पायो । आन्तरिक लेखापरीक्षण (आलेप)ले उपलब्ध हुनेभन्दा बढी भुक्तानी भएको पत्ता लगाएपछि अहिले यो घटना सामसुम पार्न खोजिएको स्रोतको दाबी छ । आलेपले प्रतिवेदनमा ८० लाख बढी रकम उपलब्ध गराएको देखाएपछि उपमहानगरले विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै रकम फिर्ता गर्न पत्रसमेत काटिसकेको छ ।
१ साउन २०८१ मा पत्र काटेर रकम फिर्ता गर्न ताकेता गरेपछि यसबारे प्रधानाध्यापक तिम्सिना अहिले छटपटीमा परेका छन् । स्रोतका अनुसार संघीय सरकारको बजेटबाट सो रकम विद्यालयको खाता नं. २२२०१xxx१३९६०१ मा जम्मा भएको थियो । संघीय सरकारको तलब बुझ्ने सात जना शिक्षकका लागि तीन महिनाको कुल ७ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने भए पनि इटहरी उपमहानगरले भने ८० लाखबढी रकम उपलब्ध गराएको र हालसम्म उपमहानगरलाई बढी रकम आएको प्रधानाध्यापक तिम्सिनाले जानकारी नगराएको पाइएको छ ।
इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई उपमहानगरले ५ असोज २०७९ मा राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत कुल ६ करोड ३० लाख ६१ हजार ६ सय ६० रुपैयाँ जम्मा गरेको थियो । जसमध्ये श्री शान्ति सिर्जना माध्यमिक विद्यालयको कोड नं.०६०२७०xx५ को उल्लिखित खाता नम्बरमा ८० लाख ८७ हजार ५ सय ८० रुपैयाँ रकम जम्मा भएपछि तलबबाहेकको अरू रकम भने ‘अपचलन’ भएको पाइएको हो ।
उपमहानगरले भने एउटा अंक बढी थिचिएका कारण त्रुटि भएर पैसा बढी गएको बताउँदै आएको छ । ‘तलब निकासा हुनेबेला सिट बनाएर सबै विद्यालयलाई केही मिस्टेक भए रुजु गरौं भनेर पठाइएको थियो, विद्यालयबाट केही रेस्पोन्स नआएपछि सोहीनुसार बजेट निकासा भयो,’ इटहरी उपमहानगरका एक कर्मचारीले भने, ‘अहिले आलेपले भेट्टाएपछि हामीले तत्काल विद्यालयलाई पत्र काटेर पैसा फिर्ता गर्न भनेका छौं ।’
यता, इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बढी पैसा गएको भए पनि विद्यालयले फिर्ता गर्नुपर्ने बताए । विद्यालयले जुनै स्रोतबाट भए पनि रकम फिर्ता गर्नुपर्ने उनको भनाइ छ । उपमहानगरले पत्र काटेको ९० दिनभित्र रकम फिर्ता गर्नुपर्ने व्यवस्था रहेका कारण सोहीबमोजिम रकम फिर्ता भइरहेको प्रशासकीय अधिकृत मेहताले बताए ।
उनका अनुसार विद्यालयका प्रधानाध्यापक तिम्सिनाले सरकारको बेरुजु खातामा ७ र १४ साउनमा ७–७ लाख गरी जम्मा १४ लाख रुपैयाँ फिर्ता गरेका छन् । बाँकी रकम भने फिर्ता गर्न बाँकी छ ।
यसबारे विद्यालयका प्रधानाध्यापक तिम्सिनाले आफूबाट गल्ती भएको स्वीकार गरे । ‘त्यसबेला स्कुल पनि आर्थिक क्राइसेसमा थियो, सबै पैसा स्कुलमै खर्च भएको हो,’ उनले भने, ‘अब त्यसलाई करेक्सन गरेर जानुपर्ने हुन्छ ।’
उपमहानगरले नै तलब शीर्षकमा त्रैमासिक रूपमा बजेट पठाउने गरेको भए पनि तिम्सिनाले भने सोही रकमबाटै शिक्षक र कर्मचारीलाई तलबसमेत खुवाएको दाबी गरे । उनले सो रकम यथाशीघ्र फिर्ता गर्ने जनाए पनि स्रोत नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया