प्रधानमन्त्रीलाई विश्वासको मत : पक्षमा १५७, विपक्षमा शून्य

लोकपथ
196
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चौथोपटक विश्वासको मत प्राप्त भएको छ । सोमबार भएको मतदानमा प्रचण्डलाई १५७ मत प्राप्त भएको छ ।

नेपाली कांग्रेसको अवरोधका बीच भएको मतदानमा दाहाललाई बहुमत प्राप्त भएको हो । प्रधानमन्त्रीलाई विश्वासको मत दिन्न भन्नेमा शून्य मत रहेको छ ।
अवरोधकै बीच भएको मतदानपछि संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे ।

सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ को उपनियम ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । विश्वासको मतको पक्षमा १५७ मत परेको हो ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी ९जसपा० नेपाल विभाजन भएसँगै प्रधानमन्त्रीले चौथोपटक संसदमा विश्वासको मत लिनुपरेको थियो । अशोक राईले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई लिएको समर्थनसमेत फिर्ता लिएका थिए ।

प्रतिनिधिसभामा कायम कुल २ सय ७५ सदस्यमध्ये १५८ जना मतदानमा सहभागी भएका थिए । जसमध्ये पक्षमा १५७ मत, विपक्षमा शून्य मत र तटस्थमा १ मत परेको थियो । कांग्रेस लगायतका विपक्षी दल भने मतदान प्रक्रियामा सहभागी नै भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?